
प्रदेश सभाका निवर्तमान सभामुख उपसभामुखको साझा फोरम स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले प्रदेश सभालाई प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन् ।
स्पिकर्स फोरम नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा संयोजक शाहीले क्रियाशील संस्थापक प्रदेशसभाका सभामुख र उपसभामुखहरूको अनुभवबाट प्रदेशसभालाई आगामी दिनमा झनै प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए । उनले प्रदेश संरचनाहरू प्रभावकारी बनाउन र व्यवस्थापकीय संस्थाहरू प्रभावकारी बनाउन फोरमले भूमिका खेल्ने बताए ।
संयोजक शाहीले प्रदेशसभाहरू पारदर्शी बनाउनसके मात्रै जनताप्रतिको उत्तरदायित्व बहन हुने बताए । उनले प्रदेशसभामा पारदर्शीताको अपरिहार्यतालाई स्थापित गर्न सक्नुपर्ने बताए । उनले खुला संसदले सरकार एवं शासन व्यवस्थालाई पारदर्शी बनाउने बताए ।
कर्णाली प्रदेशका निवर्तमान सभामुखसमेत रहेका उनले पारदर्शी सरकार नै देश र जनताप्रति जिम्मेवार र जवाफदेही हुने उल्लेख गर्दै स्पिकर्स फोरम नेपालले खुला र पारदर्शी संसदको पैरवीमा प्रदेशसभाहरूलाई सहयोग गर्ने बताए । उनले संघ र प्रदेशबीचमा औपचारिक सम्बन्धको संयन्त्र नरहेको भन्दै अबका दिनमा संघ र प्रदेशबीचको सम्बन्ध बढाएर जानुपर्ने बताए । उनले राष्ट्रियसभा र स्थानीय सरकारसँग मिलेर प्रदेशसभाले जनताको लागि विकास निर्माणमा पुलको काम गर्ने बताए ।
संयोजक शाहीले संघीय संसदले हासिल गरेका ज्ञान, सीप र अनुभवलाई प्रदेश सभासम्म लैजानसके प्रदेशसभाको संसदीय कामकारबाहीमा थप चुस्तता हुने विश्वास व्यक्त गरे । उनले नेपालको संघीय संरचनाको महत्वपूर्ण पक्ष नै प्रदेश संरचना भएको उल्लेख गर्दै उनले पहिलो कार्यकालको कामको समीक्षा गरी संवैधानिक, राजनैतिक र विधायिकी अड्चनहरूको पहिचान र निरुपण गर्न जरुरी रहेको बताए । उनले स्पिकर्स फोरममार्फत प्रदेशसभामा विधायिकी खुलापनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।