काठमाडौं, १ भदौ— सरकारले बिहिबारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोबाट प्रभावित भएकाहरुलाई राहत वितरण थप प्रभावकारी बनाउने भएको छ ।

गृहमन्त्रालयले आजदेखि सबै जिल्लाका बाढी पहिरो प्रभावितलाई ड्राइफुड वितरण कम गरी प्रभाबित प्रति परिवारलाई १ महिनासम्म पुग्ने (५० केजि चामल, दाल, तेल, नुन) राहत स्थानीय तह र स्थानीय प्रशासन मार्फत बितरण गरिने जनाएको छ ।
गृहमन्त्री जनार्दन शर्माको निर्देशन बमोजित सो राहत वितरण गर्न लागिएको हो ।
स्थानीय स्तरबाट यथार्थ क्षति मुल्याङकन प्राप्त हुनासाथ तत्काल नीतिगत प्रणाली बनाइ पुनस्थापना र संरचना पुननिर्माणको कार्य युद्दस्तरमा बढाइने पनि जनाइएको छ ।
यस्तै गृहमन्त्रालयले सप्तरीमा कुहिएको चामल बाँडनेलाई कानुनी कार्बाही प्रकृया अगाडी बढाउने पनि जनाएको छ । बुधबार गृहमन्त्री सप्तरीमा पुग्दा केहि सरकारी अधिकारीकै सक्रियतमा कुहिएको चामल वितरण गरिएको प्रभावितले गुनासो गरेका थिए । त्यति नै बेला गृहमन्त्रीले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।
मृतकको संख्या १२८ पुग्योअविरल वर्षापछि आएको बाढीपहिरोमा परि हालसम्म १२८ जनाको ज्यान गएको गृहमन्त्रालयले जनाएको छ। यस्तै ३३ जना वेपत्ता र २५ जना घाइते भएका छन् ।
यस्तै हालसम्म १ लाख ५ हजारको उद्दार र १ लाख २० हजार किलो राहत सामग्री वितरण गरिएको मन्त्रालयले जनाएको छ । राहत सामग्रीमा हालसम्म ड्राइफुड, पानी, औषधी र अन्य राहत सामाग्री वितरण गरिएकोमा आजदेखि त्यसलाई कमगरी एक महिनाको लागि पुग्ने ५० किलो चामल, दाल, तेल र नुन वितरण गर्न लागिएको हो ।