१७ असार २०८३, बुधबार
युक्रेन युद्ध

युक्रेन युद्ध भड्काउने प्रयास– रुसी लक्ष्मणरेखा उल्लंघन गर्न अमेरिकालाई दबाब

पुस १९, २०७९
युक्रेन युद्ध भड्काउने प्रयास– रुसी लक्ष्मणरेखा उल्लंघन गर्न अमेरिकालाई दबाब
तस्वीरमा युक्रेनलाई अमेरिकाले दिएको हिमार्स । Photo : rferl.org

युक्रेनलाई मोहरा बनाएर रुससँग छद्मयुद्ध लडिरहेको अमेरिकाले अहिलेसम्म एक किसिमको लक्ष्मणरेखालाई पालन गरिरहेको पाइन्छ । 

बाइडन प्रशासनले भोलोदीमीर जेलेन्स्कीको लाखौं बिन्तीका बावजूद युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र दिन मानेको छैन । रुसी भूमिमा समेत आक्रमण हुन सक्ने अनि त्यसले युद्धको दायरा बढाइदिने डरका साथ बाइडन प्रशासनले विशेषगरी एटीएसीएमएस भनिने ३०० किलोमिटरभन्दा परसम्म पुग्ने क्षेप्यास्त्र दिन मानेको छैन । 

बाइडन प्रशासनको यस निर्णयलाई व्यावहारिक तथा यथार्थवादी मान्नुपर्छ । हुन पनि १९फोर्टीफाइभ डट्कममा अमेरिकी सैन्य विश्लेषक डेनियल डेभिसले युक्रेन युद्धबाट अमेरिकी सुरक्षामा कुनै खतरा नआइलागेको तर रुसी भूमिमा प्रहार गर्न सकिने क्षेप्यास्त्र दिँदा चाहिँ त्यस्तो खतरा हुन सक्ने तर्क गरेका छन् । 

वास्तवमा अहिले युद्धको दायरा बढाएर रुससँग सिधै भिडन्त गर्ने मूडमा अमेरिका छैन । त्यसैले बाइडन स्वयंले पनि युक्रेनको सहायताका लागि अमेरिकी सैनिकहरूलाई युद्धभूमिमा नउतार्ने भनिरहेका छन् । तर अमेरिकी सैनिकहरूले युक्रेनीहरूलाई प्रशिक्षण दिने काम जारी राखेका छन् र गोप्य सूचना पनि उपलब्ध गराइरहेका छन् । 

अमेरिकाको यो संयम पनि कतिपय युद्धपिपासु पश्चिमाहरूलाई मन परेको छैन । गत सेप्टेम्बर महिनामा अमेरिकाका पूर्व राजदूत तथा सैन्य जनरलहरूले दहिल डट्कममा ‘यूएस मस्ट आर्म युक्रेन नाउ, बिफोर इट्स टू लेट’ युक्रेनलाई लामो दूरीको अत्याधुनिक हतियार उपलब्ध गराउन सुझाव दिएका थिए । 

त्यस्तै नेटोका पूर्व महासचिव एन्डर्स रासमुसेनले गत डिसेम्बर महिनामा अमेरिका तथा पश्चिमी साझेदारहरूलाई संयम त्याग्दै युक्रेनलाई अत्याधुनिक हातहतियार दिन आग्रह गरेका थिए । 

त्यसै सिलसिलामा आइतवार (जनवरी १) द न्युयोर्क टाइम्समा इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीज नामक थिंकट्यांकका वरिष्ठ फेलो निगेल गोल्ड–डेभिसले अमेरिकालाई संयम त्याग्दै लामो दूरीको हतियार युक्रेनलाई उपलब्ध गराउन सुझाव दिएका छन् । 

नेटो सदस्यमाथिको आक्रमणले ल्याउने दुष्परिणामको बारेमा सचेत रहेको रुसलाई उसको भूमिमा आक्रमण गर्न उक्साएर गोल्ड–डेभिसले युद्धको दायरा बढाउने अनि यसैलाई विश्वयुद्धमा परिणत गर्ने आकांक्षा पालेको देखिन्छ । 

‘पुटिन ह्याज नो रेड लाइन्स’ शीर्षकको आलेखमा पश्चिमले सम्मान गर्नुपर्ने कुनै लक्ष्मणरेखा रुसले नकोरेको गोल्ड–डेभिसले तर्क गरेका छन् । लक्ष्मणरेखाहरू भूराजनीतिक पत्थरको लकीर नहुने र बारम्बार परिवर्तन हुने कुरा भएकाले शत्रुले कोरेको लक्ष्मणरेखालाई मान्ने नभई कूटनीतिमार्फत परिवर्तन गराउने लक्ष्य लिनुपर्ने उनी लेख्छन् । 

परिवर्तनशील लक्ष्मणरेखालाई उल्लंघन गरिएमा आउने परिणामको भागिदार त्यही लक्ष्मणरेखा कोर्ने मुलुक हुने तर्क उनले गरेका छन् । रुसले आणविक हतियार उपयोग गरिदेला भन्ने डरका साथ पश्चिमले लक्ष्मणरेखा कोर्दै रुसी भूमिमा हुन सक्ने आक्रमणबाट युक्रेनलाई रोकिरहेको तर अब रोक्न नहुने उनको भनाइ छ । 

बरू आणविक हतियार उपयोग गरेमा रुसले कठोर परिणाम भोग्नुपर्छ भनी निवारणात्मक उपाय पश्चिमले अपनाउनुपर्ने गोल्ड–डेभिस लेख्छन् । उनले त्यसका लागि सन् १९६२ को क्युबाली क्षेप्यास्त्र संकटको उदाहरण प्रस्तुत गरेका छन् । 

त्यसबेलामा तत्कालीन सोभियत संघले क्युबामा आणविक क्षेप्यास्त्र तैनाथ गरी अमेरिकी मुख्यभूमिलाई जोखिममा पारेको थियो । तर पछि सोभियत संघले हतियार हटाएर पश्चिमलाई अनुकूल हुने कदम चालेको गोल्ड–डेभिसको भनाइ छ । 

यसो भन्ने क्रममा गोल्ड–डेभिसले इतिहासको सम्पूर्ण चित्र प्रस्तुत गरेका छैनन् । वास्तवमा त्यतिखेर अमेरिकाले टर्की र ग्रीसमा जुपिटर भनिने आणविक वारहेड समेत बोक्न सक्ने मध्यम दूरीका क्षेप्यास्त्रहरू तैनाथ गरी सोभियत संघमाथि जोखिम तेर्स्याएको थियो । त्यसले सोभियत संघको लक्ष्मणरेखा उल्लंघन गरेको थियो । 

अमेरिकालाई उसकै भाषामा पाठ पढाउनका लागि सोभियत संघका तत्कालीन राष्ट्रप्रमुख निकिता ख्रूश्चेभले क्युबामा क्षेप्यास्त्र राख्न लगाएका थिए । त्यसपछि अमेरिकाको केनेडी प्रशासनले टर्की र ग्रीसबाट आफ्ना क्षेप्यास्त्रहरू हटायो । अनि सोभियत संघले पनि क्युबाबाट क्षेप्यास्त्र झिकेको थियो । 

इतिहासको उक्त घटनामा सोभियत संघ नभई अमेरिका पछि हट्नुपरेको यथार्थ हो । तर पश्चिमको सर्वोच्चता स्थापित गर्नका लागि बनाइएका भाष्यमा केनेडीले दह्रो अडान लिएर ख्रुश्चेभलाई झुकाएको वर्णन पाइन्छ । त्यही भाष्यमा टेकेर गोल्ड–डेभिसले अहिलेको परिस्थितिको गलत व्याख्या गरेका छन् । 

उनका अनुसार, क्युबामा क्षेप्यास्त्र तैनाथ गर्दाको अवस्थाभन्दा बढी लगानी रुसले युक्रेनलाई झुकाउनका लागि गरिरहेको भए पनि त्यसको ‘लजिक’ चाहिँ उस्तै छ ।

त्यतिखेर अमेरिकाले ख्रुश्चेभलाई आणविक क्षेप्यास्त्र तैनाथ गर्नुभन्दा हटाउनु उत्तम विकल्प हुने विषयमा विश्वस्त पारेको थियो । त्यसैगरी अहिलेको पश्चिमले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा लडिरहनुभन्दा सैनिक हटाउनु कम जोखिमयुक्त हुन्छ भनी विश्वस्त पार्न सक्नुपर्छ भनी गोल्ड–डेभिस जिकिर गर्छन् । 

पुटिनलाई युक्रेनबाट सैनिक हटाउनका लागि के कुराले विश्वस्त पार्छ त ? त्यसको उत्तर दिँदै गोल्ड–डेभिस युक्रेनलाई पश्चिमले लामो दूरीको हतियार दिनुपर्ने तर्क गर्छन् । अनि रुसमाथि थप प्रतिबन्ध लगाउन पनि सिफारिश गर्छन् । 

रुसको लक्ष्मणरेखा मान्नुभन्दा युक्रेनी सेनालाई थप सक्षम बनाउने गरी पश्चिमले सहयोग गर्ने हो भने रुसलाई उपलब्ध विकल्पमध्ये सबभन्दा कम खराब विकल्प छान्न सजिलो हुने र त्यो नै पश्चिमको अनुकूल हुने उनको भनाइ छ ।

तर रुसी भूमिमा आक्रमण गरी रुसको लक्ष्मणरेखा उल्लंघन गर्नका लागि गोल्ड–डेभिसले दिएको सुझाव निकै खतरनाक छ । युक्रेन युद्ध चलिरहँदा रुसले संयम अपनाउँदै नेटो मुलुकहरूको भूमिमा आक्रमण गरेको छैन जबकि नेटोले युक्रेनलाई भरपूर सहयोग गरिरहेको छ । 

नेटो सदस्यमाथिको आक्रमणले ल्याउने दुष्परिणामको बारेमा सचेत रहेको रुसलाई उसको भूमिमा आक्रमण गर्न उक्साएर गोल्ड–डेभिसले युद्धको दायरा बढाउने अनि यसैलाई विश्वयुद्धमा परिणत गर्ने आकांक्षा पालेको देखिन्छ । 

त्यसो त गोल्ड–डेभिसले भनेजस्तै कुनै पनि देशले निर्धारित गरेको लक्ष्मणरेखा परिवर्तनशील हुन्छ भन्ने कुरा रुस स्वयंले पनि पुष्टि गर्दै आएको छ । 

युक्रेनका चारवटा क्षेत्रलाई रुसमा मिसाएपछि संविधानतः ती रुसका सार्वभौभ भूभाग भइसकेको अवस्थामा युक्रेनले तिनमा आक्रमण गर्दा रुसको लक्ष्मणरेखा उल्लंघन भएको हुनुपर्ने हो । अनि क्राइमियालाई रुसी मुख्यभूमिसँग जोड्ने कर्च पुलमा युक्रेनले आक्रमण गर्दा त्यसले पनि लक्ष्मणरेखा उल्लंघन गरेको हुनुपर्ने हो । 

उत्तेजनात्मक घटना हुँदा समेत रुसले कठोर प्रतिक्रिया जनाएन बरू युक्रेनका ऊर्जा पूर्वाधारहरूमा आक्रमण गरी उसले बदला लिइरहेको छ । रुसको यस संयमित कदमलाई त्यहाँका उग्रराष्ट्रवादीहरूले मन पराएका छैनन् भने पश्चिमले पनि रुस कमजोर शक्ति भएको भन्दै गिल्ला गर्ने मौका पाएको छ । 

अझ, रुसी मुख्यभूमिको निकै भित्रपट्टि आणविक बमवर्षक विमान राखेको स्थानमा युक्रेनले ड्रोन आक्रमण गर्दा त लक्ष्मणरेखाको जघन्य उल्लंघन नै मानिनुपर्ने हो । अनि युक्रेनले ईस्वी नयाँ वर्षको पहिलो दिन डोनेत्स्कको माकीव्कामा रहेको रुसी सैन्य अड्डामा हिमार्स आक्रमण गर्दा एकैपटकमा ६३ जना सैनिकको मृत्यु हुँदा पनि रुसको लक्ष्मणरेखा नाघिएको हुनुपर्ने हो । 

तर यस्ता उत्तेजनात्मक घटना हुँदा समेत रुसले कठोर प्रतिक्रिया जनाएन बरू युक्रेनका ऊर्जा पूर्वाधारहरूमा आक्रमण गरी उसले बदला लिइरहेको छ । रुसको यस संयमित कदमलाई त्यहाँका उग्रराष्ट्रवादीहरूले मन पराएका छैनन् भने पश्चिमले पनि रुस कमजोर शक्ति भएको भन्दै गिल्ला गर्ने मौका पाएको छ । 

अहिलेसम्म रुस र अमेरिका दुवैले यस युद्धलाई विस्तार नगर्नका लागि संयम देखाएकै हुन् । तर कथंकदाचित् युक्रेनले यो युद्ध पूरै हार्न लागेको अनुभव गरेमा अमेरिकाले उसलाई लामो दूरीको हतियार समेत उपलब्ध गराएर रुसी भूमिमा आक्रमणका लागि प्रेरित गर्न सक्छ । 

त्यस्तो अवस्थामा रुसले पनि प्रतिकारस्वरूप आफूसँग भएका खतरनाक हतियार उपयोग गरेमा यस युद्धले खतरनाक रूप लिनेछ । यस्तो परिस्थिति निर्माण भएमा गोल्ड–डेभिस जस्ता युद्धपरस्त टिप्पणीकारहरू खुशी हुनेछन् भने मानवता चाहिँ विनाशको डिलमा उभिनेछ । 

salt training

कमेन्ट गर्नुहोस्