
पर्सा राष्ट्रिय निकुञ्जमा २ वटा जरायो मारिएको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अन्तर्राष्ट्रिय आपराधिक समूहसँगको कनेक्सन खोज्ने भएको छ ।
सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तम सुवेदीले पुस ५ गते पर्सा राष्ट्रिय निकुञ्जमा २ वटा जरायो मारेको अभियोगमा मुछिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय कनेक्सन छ कि छैन भनेर खोज्न लागिएको बताए ।
‘सीआईबीले राष्ट्रिय निकुञ्जसँग एमओयू गरेको छ । त्यसका आधारमा पनि सबै तरिकाबाट अनुसन्धान गर्छौं । अहिले हामीले विभिन्न आयामबाट अनुसन्धान गरिरहेका छौं,’ सीआईबी प्रमुख सुवेदीले लोकान्तरसँग भने ।
उनका अनुसार बाहलवाला सांसद, पूर्व सुरक्षाकर्मीलगायतका व्यक्तिहरू मुछिएकाले सबै तरिकाबाट अनुसन्धान गर्नुपरेको हो ।
पुस ५ गते पर्सा राष्ट्रिय निकुञ्जको टोलीले पर्सा क्षेत्र नम्बर ३ (क) का मधेश प्रदेश सांसद प्रमोदकुमार जयसवालको घरबाट मारिएका २ जरायो, दुईवटा गाडी, हतियार र हतियारमा प्रयोग हुने गोली तथा नगद लगायत बरामद गरेको थियो । सो क्रममा ५ जना पक्राउ परेका थिए ।
निकुञ्जको टोलीले प्रदेश सांसद जयसवालको घरबाट सखुवा प्रसौनी– १ का ३७ वर्षीय झापस दास थारू, ४४ वर्षीय विशाल सहनी, काभ्रे साँगाका ५० वर्षीय दामोदर अधिकारी, धादिङ गंगाजमुना– २ का ५२ वर्षीय म्लाङ दोङ तामाङलाई नियन्त्रणमा लिएको थियो ।
निकुञ्जले सखुवा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाललाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रदीप जयसवाल र प्रदेश सांसद प्रमोदकुमार जयसवाल दाजुभाइ हुन् ।
घटनामा संलग्न भएकामध्ये उपेन्द्र यादव, कुमार तामाङ, विकास सहनी र चालक सलुन मियाँ फरार रहेको राष्ट्रिय निकुञ्जले जनाएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत तथा प्रमुख वार्डेन डा. अशोक रामले अनुसन्धानका लागि काठमाडौं क्षेत्र नम्बर ५ (ख) का सांसद श्याम खड्कालाई पनि अनुसन्धानको दायरामा ल्याएको बताए ।

‘जरायो मार्न प्रयोग भएको हतियार उहाँको नाममा रहेको देखिएको छ, त्यसैले उहाँलाई पनि पत्र काटेर बोलाएका छौं,’ प्रमुख रामले लोकान्तरसँग भने, ‘अहिलेसम्म उहाँ हाम्रो सम्पर्कमा आउनुभएको छैन ।’
उनका अनुसार प्रदेश सांसद प्रमोदकुमार जयसवाल निकुञ्जको नियन्त्रणमा छन् । उनले निकुञ्जमा बयान दिइरहेका छन् । उनीसँगै भाइ प्रदीप जयसवालले पनि बयान दिएका छन् ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रवक्ता सूर्य खड्काका अनुसार निकुञ्जले बरामद गरेका सामानहरू र मासु परीक्षणका लागि राष्ट्रिय विधिविज्ञान प्रयोगशाला पठाइएको छ ।
‘उहाँहरूको साथबाट जरायोको टाउको बरामद भएकाले आरोप पुष्टि त भएको छ तर कानूनी प्रक्रिया पूरा गर्नका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएका छौं,’ प्रवक्ता खड्काले भने, ‘केही दिनमा परीक्षणको रिपोर्ट पनि आउला, त्यसले प्रमाणित गर्छ ।’
उनका अनुसार यसमा वन्तयजन्तु संरक्षण ऐनअन्तर्गत २० हजारदेखि ५० हजारसम्म जरिवाना र ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।
त्यति मात्र होइन जिल्ला प्रहरी कार्यालय पर्साले हातहतियार तथा खरखजनासम्बन्धी कसूरमा समेत अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी दीपक गिरीले निकुञ्जबाट हतियार आइसकेको र त्यस सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।
‘अहिले निकुञ्जले बयान लिइरहेको छ । हामीले त्यहाँको अनुसन्धान सकिएपछि हतियारसम्बन्धी अनुसन्धान पनि गर्छौं,’ डीएसपी गिरीले लोकान्तरसँग भने ।
निकुञ्जको टोलीले १२ बोरको बन्दुक, ९ राउन्ड गोली, नाइट भिजन राइफल स्कोप, बोर साई केस, बन्दुक राख्ने दुईवटा झोला, राइफल साइटको ब्याट्री कम्पार्टमेन्ट बरामद गरेको थियो । निकुञ्जले जयसवाल इन्टरप्राइजेजको नाममा रहेको प्रदेश २–०३–००१ च ३०९७ नम्बरको बोलेरो गाडी समेत बरामद गरेको थियो ।

शिकार गर्न प्रयोग गरिएको उक्त बोलेरो गाडीबाट निकुञ्जको मध्य क्षेत्रमा पर्ने जमुनिया खोलामा चौरभेया रेन्जपोस्ट र सेनाको संयुक्त गस्ती टोलीमाथि गोली प्रहार समेत भएको अनुसन्धानमा देखिएको राष्ट्रिय निकुञ्जले जनाएको छ ।
सेनाको टोलीले जवाफी फायर गर्दा बोलेरोको टायर पञ्चर भएको थियो । त्यहाँबाट भागेको गाडी अनुनिया गाउँमा फेला परेको थियो ।
अनुसन्धानमा खटिएका निकुञ्जका अधिकारीहरूका अनुसार उनीहरूले सासंद् जयसवालको पर्सा सखुवा प्रसौनी– १ मा रहेको घरलाई सेल्टर बनाएर संगठितरूपमा चोरी शिकारी गर्ने गरेको देखिएको छ ।
पक्राउ परेका विशाल सहनी यसअघि गाँजा तस्करीमा कारबाहीमा परेका व्यक्ति हुन् भने अधिकारी पूर्वहवल्दार रहेको निकुञ्जले जनाएको छ ।