०१ साउन २०८३, शुक्रबार

जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ : अध्यक्ष तिमिल्सिना

जनप्रतिनिधिको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ : अध्यक्ष तिमिल्सिना
फाइल फोटो

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय तुल्याउन जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

स्पिकर्स फोरम नेपालले मंगलवार आयोजना गरेको ‘प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरमको दायित्व’ अन्तर्क्रिया कार्यक्रममा उनले केही कानूनी जटिलताकाबीच पनि संघ र प्रदेशसभामार्फत् सकारात्मक काम भएको भन्दै त्यसका आधारमा आगामी कार्यलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।

उनले भने, ‘अबका दिनमा परिवर्तनलाई संस्थागत गर्न लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय र लोकप्रिय बनाउन जनप्रतिनिधिले व्यवहार बदलेर जनताको पक्षमा काम गर्न जरुरी छ ।’ अध्यक्ष तिमिल्सिनाले देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै संघ तथा प्रदेशमा मन्त्रिमण्डल सानो आकारको बनाइ आर्थिक मितव्ययिता कायम गरिनुपर्नेमा जोड दिए ।

मुलुकको संविधानको व्यवस्थाअनुरूप कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था रहेकाले सत्ता गठबन्धन अपरिहार्य रहेको भन्दै गठबन्धन सरकार बनाउँदा थोरै मन्त्रालय बनाइनुपर्ने धारणा राखे ।

अध्यक्ष तिमिल्सिनाले प्रदेशसभा र संरचना भद्दा र खर्चिलो भयो भनेर आलोचना हुने गरेको प्रसङ्ग उल्लेख गर्दै कमीकमजोरीलाई सच्याएर बलियो बनाउन आवश्यक रहेको बताए । ‘प्रदेशमा मन्त्रालय धेरै भए काम प्रभावकारी भएन भन्ने आलोचना बढेको छ,’ उनले भने, ‘सांसद भएपछि मन्त्री हुनैपर्छ भन्ने प्रवृत्ति रोकिनुपर्छ । अहिलेको आलोचनालाई भविष्यमा सुधार गरेर जानुपर्छ ।’

उनले प्रदेशसभालाई प्रभावकारी बनाउन र जनआकांक्षा अनुरूप काम गर्न स्पिकर्स फोरमको महत्त्वपूर्ण भूमिका हुने भन्दै सातै प्रदेशमा अन्तर्क्रिया गरेर प्रदेशसभाको कामलाई प्रभावकारी र परिणाममुखी बनाइनुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्