यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने पाँच जना विचौलियालाई काठमाडौं उपत्यका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा संलग्न दुई जनासहित गरी सात जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उपत्यका प्रहरी कार्यालय र कठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट मंगलबार संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तथा उपत्यका कार्यालयका प्रवक्ता सीताराम रिजालले बताए ।
यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर, ठुलोभ¥याङ र चाबहिलबाट पाँच जनालाई र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा संलग्न दुई जनालाई यातायात व्यवस्था कार्यालय, चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
निजहरूले सेवाग्राहीहरुलाई सहजीकरण गरिदिन्छौ, छिटोछरितो रुपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरु पु¥याइदिन्छौ भनि विभिन्न प्रलोभनमा पारेर हैरानी गर्नेगरेको प्रहरीको भनाइ छ । त्यसरी काममा हैरानी गर्नेमाथि प्रहरीले नियमित निगरानी गर्दैआएको प्रवक्ता रिजालले बताए ।