प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रहरी कर्मचारीहरू अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर घटित अपराधका घटनाको अनुसन्धान गरी टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान गरिने बताएका छन् । घटनाको अनुसन्धान गरी पीडितलाई छिटोभन्दा छिटो न्याय दिने र पीडकलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता जनाएका छन् ।
प्रहरी महानिरीक्षक सिंहले सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निर्देशन दिँदै सो कुरा बताए । पेन्डिङमा रहेका मुद्दाहरूलाई अझ बढी प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो समाधान गर्नेतर्फ प्रहरी कर्मचारीहरू कटिबद्ध हुन निर्देशन दिए ।
प्रहरी महानिरीक्षक सिंहले आन्तरिक सुदृढिकरण र आन्तरिक सुधारमा विशेष ध्यान दिँदै आफ्नो मातहतमा कार्यरत सबै प्रहरी कर्मचारीहरूलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्ने बताए । आफ्नो क्षेत्रमा हुन सक्ने सम्भाव्य अपराधहरूको विश्लेषण गरी त्यस्ता आपराधिक घटनाविरूद्ध थप निर्मम तथा विशेष चनाखो भई काम गर्न उनले निर्देशन दिए ।
प्रहरी महानिरीक्षक सिंहले उपलब्ध जनशक्तिको उच्चतम् प्रयोग गर्दै शान्ति सुरक्षा अमनचयनलाई थप मजबुद बनाउन आवश्यकताअनुसार समन्वय र सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिए । तस्करी तथा सीमा अपराध, प्राकृतिक दोहन नियन्त्रण तथा फरार अपराधी पक्राउ एवम् जघन्य अपराधको सफल अनुसन्धानमा अझ बढी केन्द्रित र प्रभावकारी रुपमा काम गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताए । मिटरव्याजीविरुद्ध अझ बढी आक्रामक भएर काम गर्न उनले मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिए ।
प्रहरी महानिरीक्षक सिंहले अहिलेको अवस्थामा नेपाल प्रहरीका लागि राम्रो काम गर्ने वातावरण भएको चर्चा गर्दै सबै प्रहरी कर्मचारीहरूलाई नयाँ जोश, उमङ्ग, स्वतन्त्र र अझ बढी सशक्त भएर काम गर्न निर्देशन दिए । तस्करी, आपराधिक क्रियाकलाप वा संगठनलाई आँच आउने कार्यमा कुनै पनि प्रहरी कर्मचारी संलग्न भएमा त्यस्तो कार्य क्षम्य नहुने र संलग्नलाई कठोर कारवाही गरिने उनले बताए ।
कार्यालय प्रमुखहरूले आफ्नो मातहतमा खटिने सम्पूर्ण प्रहरी कर्मचारीलाई समसामायिक विषयमा आवश्यक निर्देशन दिनुपर्नेमा समेत उनले जोड दिए । सवारी दुर्घटना न्यूनीकरणका लागि लागू गरिएका रिफ्रेसमेन्ट सेन्टर, टाइम कार्ड लगायतका कार्यक्रमलाई लागू गर्न अझ बढी सक्रिय हुन उनले निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी, अन्य प्रहरी अधिकृतहरूको उपस्थिति थियो । सहभागी अन्य प्रहरी कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति थियो ।