०५ साउन २०८३, मंगलबार

सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए, मुख्यमुख्य घटनाक्रम हेर्नुहोस्

सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए, मुख्यमुख्य घटनाक्रम हेर्नुहोस्

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सत्ता गठबन्धनको अनौपचारिक बैठक बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । बैठकमा सरकारको न्यूनतम् साझा कार्यक्रमका विषयमा छलफल केन्द्रित रहेको थियो । यस्तै समसामयिक राजनीतिक अवस्था र जनसरोकारका विषयमा अनौपचारिक छलफल भएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बैठकपछि जानकारी दिए । 

उनका अनुसार न्यूनतम् साझा कार्यक्रमको ड्राफ्टलाई बिहीबारसम्ममा अन्तिम रुप दिनेगरी बैठकमा सहमति जुटेको छ । जसअनुसार शुक्रबारसम्ममा न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्न सकिने उनको भनाइ छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।
बुधवार सिंहदरबारमा भएको भेटमा प्रचण्डले अध्यक्ष नेपाललाई विश्वासको मत दिन आग्रह गरेका हुन् । प्रचण्डले आफूसँग सल्लाह नै नगरी एमालेसँग मिलेर सरकार बनाएकोप्रति असन्तुष्ट रहेका नेपाललाई प्रचण्डले बुधवार भेटेका हुन् ।
००००
सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारसम्बन्धी विवादमा सरकारसँग लिखित जवाफ माग गरेको छ ।     
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वर खतिवडा, डा आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलासले आज अख्तियारको क्षेत्राधिकारसम्बन्धी परेको रिट निवेदनमा सरकारका नाममा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश गरेको हो ।
००००
जनता समाजवादी पार्टी नेपाल (जसपा) को राजनीतिक समितिको बैठकद्वारा गठित छानबिन समितिले आफ्नो काम थालेको छ । मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुको विरुद्ध उम्मेदवारी दिने, पार्टीभित्र अन्तर्घात गर्ने, निष्क्रिय रहने, असहयोग गर्ने, पार्टी विरुद्ध गतिविधि गर्ने संघीय परिषद् सदस्य तथा केन्द्रीय समितिका सदस्यहरूमाथि छानबिन हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए  ।
००००
गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न बुधवार सबै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई परिपत्र गरेको छ ।
प्रचलित कानून विपरीत ढुंगा, गिट्टी  तथा बालुवा उत्खनन् तथा दोहन कार्यलाई नियमन गर्न वातावरण संरक्षण ऐन २०७६ को पालना र यस सम्बन्धमा अदालतबाट भएको आदेश कार्यान्वयन गर्न आवश्यक देखिएकाले परिपत्र जारी गरिएको मन्त्रालयले जनाएको छ ।
००००
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले केन्द्रदेखि प्रदेशसम्मै कांग्रेसको उपस्थिति यसपटक बलियो रहेको भन्दै सशक्त भएर प्रस्तुत हुने बताएका छन् । 

बुधवार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘संसदमा हाम्रो उपस्थिति बढेको छ । पहिलेको जस्तो एउटै दलको प्रचण्ड बहुमत नभएको अवस्था छ । यो अवस्थामा हाम्रो भूमिका बढेर जान्छ । किनकि यसबेला हामी केन्द्रदेखि प्रदेशसम्मै सबैभन्दा ठूलो दल पनि छौं ।’ उनले ‘प्रचण्ड’ नेतृत्वको सरकारमा अनेक दल र खिचडीको स्वरूप देखिएको भन्दै आफ्नै बोझले गर्दा सरकारको आयु छोट्टिने दाबी गरे ।
००००
पुस २२ गतेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ । प्रतिनिधिसभा अधिवेशन पुस २४ गतेबाट प्रारम्भ हुने भन्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गते बस्ने गरी सारेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसअघि पुस २३ गते संसदीय दलको बैठक बस्नेछ ।
००००
उद्योगी व्यवसायीको चर्को दबाब र नेपाल बैंकर्स संघको सुझावपछि नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ ।
राष्ट्र बैंकले बुधवार मार्गनिर्देशन संशोधन गरेर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले गत कात्तिक १ गतेदेखि लागू गरेको यस्तो निर्देशन निजी क्षेत्रका व्यावसायिक संस्थाको दबाब र बैंकर्स संघले दिएको सुझावलाई आधार बनाएर संशोधन गर्न बाध्य भएको हो ।

चालू पुँजी कर्जा सम्बन्धी मार्गनिर्देशन २ वर्ष स्थगन गर्न निजी क्षेत्रले माग गरेको भए पनि राष्ट्र बैंकले भने संशोधन गरेर निजी क्षेत्रलाई आश्वस्त पार्ने प्रयास गरेको हो । मार्गदर्शन कार्यान्वयनमा आएलगत्तै निजी क्षेत्रले यसलाई २ वर्ष कार्यान्वयन नगर्न दबाब दिँदै आएका थिए ।
००००
यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको पछिल्लो अर्थतन्त्रको बारेमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् ।
सो क्रममा अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा प्रधानमन्त्रीले चासो राखेका थिए ।
००००
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते साँझ ५ बजेसम्मको समय दिएका छन् ।
निर्वाचन आयोगबाट प्रदेशसभा सदस्यको निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश भएको भन्दै प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ उपधारा १ बमोजिम कुनै दलले स्पष्ट बहुमत प्राप्त नगरेको भन्दै बहुमत र्पुयाएर सरकारमा दाबी गर्न समय दिएका हुन् ।
००००
सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवागमन ७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८–०७९ को पहिलो पाँच महिनाको तथ्याङ्कलाई हेर्ने हो भने चालु आर्थिक वर्ष २०७९–०८० को सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्यामा ७० दशमलव १७ प्रतिशतले वृद्धि भएको पाइन्छ । 

सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार गत आवको पहिलो पाँच महिनामा सात हजार चार सय ६४ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए भने चालु आवको सोही अवधिमा २५ हजार २९ जनाले भ्रमण गरेका छन् । चालु आवको साउनमा तीन सय ८५, भदौमा छ सय ९०, असोजमा छ हजार सात सय ३१, कात्तिकमा १३ हजार एक सय ५८ र मङ्सिरमा चार हजार ६५ पर्यटक खुम्बु पुगेको निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिए ।
००००
बागमती प्रदेश सभाको सभामुख र उपसभामुख पदको निर्वाचनका लागि पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची अनुसार पुस २८ गते बिहान १०ः३० बजेदेखि २ बजेसम्म आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ । यस्तै निर्वाचन पुस २९ मा हुनेछ ।
००००
१ नम्बर प्रदेशमा ५ वर्षपछि प्रदेशका स्थायी संरचना बनाउनका लागि जग्गा प्राप्त हुने प्रक्रिया अगाडि बढेको छ ।
जग्गादाताहरू जग्गा दिन इच्छुक देखिएपछि प्रक्रिया अगाडि बढेको हो । प्रशासनिक भवन, प्रदेशसभा हल, सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्रीहरूको निवास निर्माणको लागि १२ बिगाहा जग्गा दिन दाता इच्छुक देखिएका छन् ।
००००
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी सदैव तत्पर रहेको बताएका छन् । 

प्रहरी प्रधान कार्यालयमा आयोजित नेपाल प्रहरी र चलचित्र विज्ञसँगको अन्तक्र्रियामा प्रवक्ता राईले कलाकार र चलचित्र क्षेत्रलाई सहयोग गर्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताएका हुन् ।
००००
राष्ट्रिय खेलकुद परिषद् (राखेप) टी–२० लिग प्रकरणमा छानबिन गर्न ५ सदस्यीय छानबिन समिति बनाएको छ ।  परिषद्को कार्यकारी समितिका सदस्य एकेन्द्र बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन कार्यदल गठन गरिएको हो । 

कार्यदलको सदस्यमा परिषद्का सदस्य प्रकाश कुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोज कुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन् ।
००००
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा कमलबहादुर शाह निर्वाचित भएका छन् । शाह सर्वसम्मत रूपमा दलको नेतामा चयन भएका हुन् । निर्वाचन समितिले निर्वाचनको तयारी गरे पनि पार्टीको प्रदेश कार्यसमितिले शाहको नाममा सर्वसम्मति जुटाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्