
पाँचथरमा पूर्वाधार विकास कार्यालयअन्तर्गत सञ्चालन भइरहेका कालोपत्रे हुने ३ वटा सडक आयोजनाको काम अघि बढेको छ ।
४ मध्ये १ आयोजनाको काम भने अघि बढ्न सकेको छैन । पाँचथरमा अहिले मुख्य सडक कालोपत्रेको काम अघि बढिरहेको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख राजनराज रिड्डीले बताए ।
उनका अनुसार अहिले ३ वटा आयोजनाको काम द्रुत गतिमा अघि बढिरहेको छ भने एउटा आयोजनाको काम पनि चाँडै अघि बढ्नेछ ।
फिदिम फालोटको १० किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य ८० प्रतिशत र आर्थिक प्रगति ७४ प्रतिशत सकिएको छ । कन्काई पीएएस जेभी झापाले ६० करोड २७ लाखको लागतमा गत २०७६ असार ३० गते आयोजनाको जिम्मा लिएको थियो ।
आयोजनाको समय अवधि आगामी २०८० असार मसान्तसम्ममा सकिँदैछ तर कालापत्रे गर्ने कार्य फागुन महिनाको अन्त्यसम्ममा सकिने पूर्वाधार विकास कार्यालयको अनुमान छ । विक्रम संवत् २०७८ मसान्तसम्मै आयोजनाको काम सकिनुपर्ने भए पनि कोभिड महामारीको कारण २ वर्ष समय थपिएको थियो ।
यस्तै यासोक सरखण्डे १३ दशमलव ३ किलोमिटर सडक रहेको आयोजनाको काम कोभिडले २ वर्ष समय थपिएको थियो । अब आयोजनाको काम आगामी वर्ष असार मसान्तमा सकिँदैछ । सडकको अहिले भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४६ प्रतिशत सकिएको कार्यालयले जनाएको छ ।
सडक कालोपत्रे गर्ने जिम्मा लामा च्याङमिला जेभी काठमाडौंले ६० करोड ९२ लाख रुपैयाँको लागतमा लिएको हो । ७ किलोमिटर फिदिम शिवालय नाङलापा छिन्तापु सडकको कालोपत्रे गर्ने कार्य भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत सकिएको छ । दिवा सफल जेभी काठमाडौंले २६ करोड ४५ लाखको लागतमा कालोपत्रे गर्ने कार्य गरिरहेको छ । आयोजनाको काम आगामी वर्ष असार मसान्तसम्ममा सकिँदैछ ।