
स-साना बालबालिकालाई स्कूल पुग्न नै २ घण्टाको यात्रा गर्नुपर्ने समस्या भएपछि एक वडाध्यक्षले आफ्नो तलबबाट गाउँमै शिक्षिका राखेर बालकक्षा सञ्चालन गराउने भएका छन् ।
धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष देवराज ओझाले महादेव खर्कका बालबालिकाका लागि गाउँमै शिक्षाका राखेर बालकक्षा सञ्चालनको व्यवस्था गराउने भएका हुन् ।
शैक्षिक सामग्रीको व्यवस्था भने प्रयास नेपाल नामक गैरसरकारी संस्थाले गरिदिने भएको छ ।
'गजुरी गाउँपालिका वडा नम्बर ८ को महादेव खर्क (पुरानो गाउँ ऐँसेलु खर्क)का बालबालिकाहरूलाई विद्यालय जानका लागि २ घण्टाभन्दा बढी समय लाग्ने हुँदा बालबालिकाहरू शिक्षाबाट वञ्चित भएकाले मिति २०७९ माघ २ बाट बालकक्षा सञ्चालन गर्ने र अर्को व्यवस्था नभएसम्मका लागि मलाई गाउँपालिकाबाट दिने सेवा सुविधाबाट शिक्षिकाको तलब दिने र प्रयास नेपाल धादिङले शैक्षिक सामग्री उपलब्ध गराउने गरी कक्षा सञ्चालन गर्ने निर्णय गरियो,' वडाध्यक्ष ओझाले फेसबूकमा लेखेका छन् ।
ओझा गएको स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका हुन् ।