
राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने प्रष्ट पारेका छन् । पछिल्लो समय राप्रपा र जसपाका नेताहरूले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेको प्रसंगमा भेटघाट सामान्य भएको भन्दै वर्तमान सरकारलाई विश्वासको मत दिनेमा कुनै शंका नगर्न आग्रह गरेका हुन् ।
शुक्रवार संसद सचिवालयले आयोजना गरेको सर्वदलीय बैठकपछि राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले आधिकारिक रूपमा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई कांग्रेसले प्रधानमन्त्री बन्न आग्रह नगरेको बताए । उनले विभिन्नस्तरहरूबाट प्रधानमन्त्री बन्नका लागि प्रस्ताव आए पनि पार्टीबाट आधिकारिक रुपमा भने नआएको बताए ।
उपाध्यक्ष प्रधानले जनतालाई गरेको वाचा र एकछिनमै परिवर्तन गर्ने कुराले पार्टीको अस्तित्व गुम्ने भन्दै अहिलेकै सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको प्रष्ट पारे । ‘हाम्रो पार्टीको अध्यक्षलाई नेपाली कांग्रेसले प्रस्ताव गरेको विषय जुन छ, यसबारे ठूला दललाई टिप्प्पणी गर्न मिल्दैन, विश्वासको कुरा छ, कुन कुराले जनताको विश्वास बिग्रियो भन्ने छैन । हाम्रो अध्यक्षले पनि क्षणिक कुरामा अड्किनु हुँदैन भन्ने छ । हामीलाई आएको छैन । सुनेको भरमा के धारणा बनाउने भन्ने कुरा हो । पहिला पार्टीले भोगेको कुरा सम्झिएका छौँ । कुराहरु विभिन्न स्तरबाट आएका हुन्, तर वास्तविक रुपमा होइन’, उनले भने ।
त्यस्तै, जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवालाई भेट्दैमा शंका गर्नु नपर्ने बताए । उनले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेमा विश्वस्त रहन आग्रह गरे ।
‘भेटघाट गर्दैमा शंका गर्नु पर्दैन । अरु कुनै विषयमा पनि भेटघाट हुनसक्छ । भेट नै नगर्नु भन्ने होइन । त्यसैले भेटघाट भयो भन्दैमा शेरबहादुर देउवाको पक्षमा गएको होइन । हाम्रो पार्टीले प्रचण्डजीलाई लिखित रुपमा राष्ट्रपतिकोमा गएर हस्ताक्षर गरेका छौँ । हामी प्रचण्डजीलाई मत दिन्छौँ । हामी सरकारको पक्षमा छौँ’, यादवले भने ।
राप्रपा र जसपाको समेत समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिन नजिकँदै जाँदा राजनीतिक दलका नेताहरूबीच भेटवार्ताले पनि तीव्रता पाएको छ । पछिल्लो समय कांग्रेस सभापति देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटघाट गरेपछि राजनीतिक वृत्तमा नयाँखालका अड्कलबाजी शुरु भएको छ ।