१२ असार २०८३, शुक्रबार

शिक्षक पेशाबाट अवकासपछि सुन्तलासँग रमाउँदै ‘तारा’

शिक्षक पेशाबाट अवकासपछि सुन्तलासँग रमाउँदै ‘तारा’

विगत तीन दशक स–साना बालबालिकासँगै रमाउँदै आएकी तारा अर्याल अहिले सन्तलासँग रमाउन थालेकि छन् । बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आएकी अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीकी ६६ वर्षीया अर्यालले गाउँको नजिकै पोखरीचौरमा रहेको महेन्द्र देववाणी आधारभूत विद्यालयमा शिक्षिकाको रुपमा २९ वर्ष सेवा गरिन् । शिक्षण पेसाबाट अवकाश भएकी अर्यालको अहिलेको दैनिकी सुन्तला बगैँचामै बित्नेगरेको छ । विद्यालयमा जसरी बालबालिकालाई माया गरेर शिक्षा दिइयो त्यसरी नै सुन्तलाका बोटलाई स्याहारसुसार नियमित गरेकै कारण पनि आम्दानीको मुख्य स्रोतको रुपमा सुन्तला भएको उनले बताइन् । 

घरको आँगन, डिल तथा आसपासका बारी तथा कान्लामा सुन्तला लटरम्म फलेका छन् । घर वरिपरि रहेको सुन्तला बगैँचा पहेँलपुर छ । झट्ट हेर्दा जोकोही पनि मन आनन्दित र प्रफुल्लित हुनेगर्छ । विगत वर्षको तुलनामा यस वर्ष सुन्तला अत्यधिक फलेकाले पनि बोटले फल धान्न नसकेर हाँगा लाछिएका छन् । केही बोटलाई एक दुई वटा टेका दिइएको छ ।

सुन्तला पाक्न थालेसँगै बर्सेनि यहाँ व्यापारी बगैँचा नै ठेक्का लिन आउनेगरेका छन् । यस वर्ष पनि उनले ठेक्कामार्फत रु चार लाखको सुन्तला बिक्री गरेकि छन् । बाँकी सुन्तला अहिले बोटबाट नै फुटकररुपमा बिक्री भइरहेको छ । पुतलीबजारको जैँसीडाँडामा शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका सुन्तला उत्पादक किसानले सुन्तला भण्डारण गर्ने गरेका छन् । अहिले प्रतिकेजी रु ९० देखि सयमा बिक्री हुँदैआएको सुन्तलाको मूल्य बढी पार्न शीतभण्डारमा राख्ने चलन बढ्दैगएको छ । अर्यालको सुन्तला बगैँचामा उत्पादन भएको सुन्तला स्थानीय बजारसहित पोखरा, काठमाडौँ, बुटवललगायतका बजारमा बिक्री हुँदैआएको छ ।

सुन्तलाको मूल्य बढी पार्न अहिले शीतभण्डारमा सुन्तला उनले राखेकि छन् । “अहिले फुटकरमा प्रतिकेजी रु ९० देखि सयमा सुन्तला बिक्री हुन्छ”, उनले भनिन्,  “दुई महिनापछि शीतभण्डारबाट झिकेर सुन्तला बिक्री गर्दा प्रतिकेजी झण्डै रु दुई सय पर्छ ।” शुरुका वर्षमा सुन्तलाका बोट नै कम भएकाले उत्पादन थोरै भयो । आम्दानी पनि थोरै भयो । केही वर्षदेखि निरन्तर सुन्तला बिक्रीबाट रु २५ लाख आम्दानी हुँदै आएको अर्यालको भनाइ छ । सुन्तलाका नयाँ बोट थपिएकाले आगामी वर्षबाट उत्पादन बढ्नेछ । अनि आम्दानी पनि स्वभाविक बढ्ने विश्वास उनले गरिन् । अर्यालले अझै दुई सय नयाँ बोट लगाउन तयारी गरेको बताइन् । कूल ३६ रोपनी क्षेत्रफलमा अहिले उनको सुन्तला बगैँचा फैलिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्