
नवलपारासी, १ भदौ– भारतले बनाएको बाँधका कारण डुवानमा परेको भन्दै नवलपरासीका सुस्तावासीले नहरको बाँध भत्काएका छन् ।
आफ्नो ठाउँको पानीको निकास नभएको भन्दै उनीहरुले नहरको बाधमा खनेर पानी निकास गर्न खनेका छन् ।
स्थानीयले बाँध भत्काउन लागेको सूचना पाएका नवलपरासीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख स्थानीयले खनिरहेको स्थानमा पुगेर अवलकोन गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले स्थानीयले खेतकाे पानी नहरमा खसाल्न नहर नजिक खनेको भन्दै त्यसलार्इ बाँध भत्काएकाे भन्न नमिल्ने दाबी गरे ।
उनले भने, 'उहाँहरूले जमेको पानीको निकाश गर्न खाेज्नु भएको हो, तर हामीले भारतीय पक्षसँग कुरा गरेर मिलाउन भनेपछि उहाँहरूले मान्नु भयो ।'
स्थानीयले बाँधका कारण पानीकाे बहाव राेकिएको र खेतिपातिमा समेत असर गरेपछि बाध्य भएर पानीको निकास खोजेको बताए ।
प्रमुख जिल्ला अधिकारीले भारतीय पक्षसँग कुराकानी गरेका पानीको निकासको व्यवस्था गर्ने आश्वासन दिए । र, बाँधमा खन्नबाट स्थानीयलाई रोके ।
केही दिन अघि देखि परेको पानीपछि आएको बाढीका कारण जनधनको क्षति भएको र भारतले लगाएको बाँधका कारण पानी रोकिएको भन्दै उनीहरुले पानी कटाउनका लागि नहरको बाँध नजिकै पानी निकासको स्थान बनाउन शुरु गरेका थिए ।
उनीहरुले नहरसँग खन्न थालेसँगै भारततर्फ पनि त्यसबारे जानकारी गराइएको छ । त्यससँगै भारतीय अधिकारीहरु पनि घटनास्थलमा आएका छन् ।