
तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा एमाले सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत् रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो ।
चीनसँगको ऐतिहासिक नाका जोडिएको सिन्धुपाल्चोकको तातापानी नाका २०७२ सालको भूकम्पपछि पटक–पटक बन्द हुँदै आएको छ ।
शुक्रवार एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा अर्थ मन्त्रालय पुगेका पोलिटब्यूरो सदस्य अरुण नेपाल, एमाले केन्द्रीय सदस्य सरेस नेपाल, जिल्ला अध्यक्ष कमल नेपाल लगायतले अर्थमन्त्रीलाई तातोपानी नाका खुलाउन आग्रह गरेका हुन् ।
उनीहरूले अरनिको राजमार्गको जुरे–कोदारी खण्डको सडक र पुल पुनर्निर्माणको आवश्यक अध्ययन सहितको बजेट समेत माग गरेका छन् । ‘पछिल्लो समय यस भन्सार नाकामा सुविधा सम्पन्न ड्राइपोर्ट समेतको पूर्वाधार उपलब्ध छ । प्रभावकारी ढंगबाट सुचारु हुन सकेको छैन,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘भूकम्पले बन्द नाका र कोरोना महामारीको कारण थलिएको व्यापारिक क्षेत्रका व्यवसायीको आर्थिक पुनःभरणका विशेष कार्यक्रमअघि बढाइयोस् ।’
अर्थमन्त्रीले आफू यसमा सकारात्मक रहेको र पहल जारी रहने बताएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए ।