२६ जेठ २०८३, मंगलबार

लाखौं आम्दानी हुने भेडापालन छोडेर जनसेवामा

लाखौं आम्दानी हुने भेडापालन छोडेर जनसेवामा

डम्मर बुढा मगर 

आजभोलि दिनहुँजसो तमानखोला गाउँपालिकाको कार्यालय परिसरमा शिरमा निलो छातेटोपी, जीउमा हापदुला (भेडाको ऊनबाट बनेको कपडा) भिरेको युवा देखिन्छन् । उनले गाउँपालिकामा आउने नागरिकलाई कार्यालयको ढोकैमा स्वागत गर्दै समस्या बुझ्ने र काममा सहयोग गर्छन् । उनको कामले गाउँपालिका आउने सेवाग्राही पनि खुसी छन् । उनी हुन् तमानखोला गाउँ कार्यपालिका सदस्य ढालेन्द्र छन्त्याल । 

छन्त्याल एक वर्ष अगाडिसम्म भेडाबाख्रासँगै लेक बेँसीमा भेटिन्थे । अहिले उनी गाउँपालिकाको कार्यालयमा भेटिन्छन् । ३९ वर्षीय छन्त्याल गत स्थानीय निर्वाचन हुँदासम्म भेडी गोठाले थिए । स्थानीय तह निर्वाचनमा कार्यपालिका सदस्यमा निर्वाचित भएपछि उनी भेडापालन छोडेर राजनीतिमा होमिएका छन् । सानैदेखि राजनीतिमा चासो राख्ने छन्त्याल स्थानीय तह निर्वाचन २०७४ मा वडा सदस्यमा पराजित भए । वडा सदस्यमा हारेपछि छन्त्यालले निरन्तर भेडापालनमै लागे । 

गत स्थानीय तहको निर्वाचनपछि जनताको सेवा गर्ने हुटहुटीले गर्दा व्यवसाय छाडेर राजनीतिमा होमिएको छन्त्यालले बताए । उनले बाउबाजेले गरेको पेसालाई आफूले पनि निरन्तता दिँदै आएको भए पनि अहिले छाडेर राजनीतिमा लागेको बताए । नेता कार्यकर्ताले यस पटक कार्यपालिका सदस्यमा आउन जोड गरेको र आफ्नो पनि रुचि भएको हुँदा भेडापालन छोडेर राजनीतिमा आएको बताए । 

कार्यपालिका सदस्य भएपछि भेडा पाल्ने समय नहुने भन्दै सबै बेचेर जनसेवामा लागेको बताए । छन्त्यालले भने, “मैले अघिल्लो वर्षसम्म थुप्रै भेडा पालेको थिएँ, भेडा लिएर धेरै टाढा–टाढासम्म पुग्ने गर्थे, अहिले कार्यपालिका सदस्य भएपछि पालिका आउँदा भेडा भोकै हुन्छन्, भेडा चराउन जाँदा पालिकाको काम छुट्ने हुँदा भेडा पाल्न छोडेर यता लागेको छु ।”

छन्त्याल स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट सदस्यमा निर्वाचित भएका थिए । उनी हाल तमानखोला गाउँपालिकाको आर्थिक विकास समितिको संयोजकसमेत छन् । तमानखोला गाउँपालिका–२ का छन्त्याल १६ वर्षकै उमेरमा विदेशिएका थिए । कतार र दुबईमा आधा दशक बढी समय बिताएको उनले बताए । विदेशबाट आएर भेडापालनमा लागेका छन्त्यालले अहिले जनताको सेवा गर्न पाउँदा खुसी लागेको बताए ।

“म सामान्य परिवारको मान्छे हुँ, गाउँमा गरिबी, अशिक्षा, बेरोजगारी छ, हाम्रो समाज विकासले पछाडि परेको अवस्था छ, यसलाई बदल्न म राजनीति गर्न थालेको हुँ, मलाई कुनै व्यक्तिगत स्वार्थ छैन, शुरुको चुनावमा के कमीकमजोरी भएछ, चुनाव जित्न सकिएन”, उनले भने, “अहिले मलाई जनताले पत्याउनुभयो, सेवा गर्ने अवसर मिल्यो, इमान्दारिताका साथ काम गर्छु ।”

उनले भेडापालनबाट वार्षिक रु पाँच लाखसम्म कमाउँदा नमिलेको खुसी अहिले आम्दानी नहुँदा पनि मिलेको बताए । छन्त्यालका घरमा बुबाआमा, दुई छोराछोरी र श्रीमती छन् । श्रीमतीले स्थानीय विद्यालयमा शिक्षण गर्ने हुँदा परिवार चलाउन त्यति समस्या नभएको छन्त्यालको भनाइ छ । 

छन्त्यालले भने, “पहिले वार्षिक लाखौँ आम्दानी हुँदा पनि ठिकै थियो, अहिले आम्दानी छैन र पनि दैनिकी चलेको छ, मैले जनताको सेवा गरेको छु, समाज परिवर्तन गर्नुछ, आर्थिक अभाव त भइनै हाल्छ तर पनि व्यवस्थापन गर्ने हो ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले छन्त्याल पालिकाको काममा सक्रिय भएर लाग्नेगरेको बताए । छन्त्यालले पालिकाका योजना र कार्यक्रममा पहिलेदेखिनै चासो राख्ने र सहभागी हुँदैआएको भन्दै अहिले निर्णय गर्ने स्थानमा आइपुगेको अध्यक्ष बुढामगर बताए । 

गाउँपालिकामा सेवा लिन आएका नरज रमाइलीले छन्त्याल जनताको सहयोगी बनेको बताए । छन्त्यालले पालिकामा आउने सबै सेवाग्राहीलाई समान व्यवहार गर्नेगरेको रसाइलीको भनाइ छ । उनले भने, “सेवाग्राही सबै जाने बुझेका हुँदैनन्, उनले कुन शाखाको के काम हो, पालिकामा हुने हो की होइन, त्यो सबै बताइदिने र आफूले गर्ने काम भए छिटोछरितो गरिदिन्छन्, उनको व्यवहार देख्दा अरु कर्मचारी र जनप्रतिनिधि यस्तै भए जनताले दुःख पाउँदैनथे होलाजस्तो लाग्छ ।” रासस

salt training

कमेन्ट गर्नुहोस्