
लामो समयको प्रतिक्षापछि निर्माण भएको गुल्मीस्थित रेसुङ्गा विमानस्थलमा आइतवार तारा एयरले सफलतापूर्वक डेमो उडान गरेको छ । रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा आइतवार मध्यान्ह तारा एयर ९ एनएएलओको ट्वीनअटर जहाजले अवतरण गरेको हो ।
आफ्नो नगरपालिकामा बनेको विमानस्थलमा पहिलोपटक विमान अवतरण गरेको खुसीयालीमा रेसुंगा नगरपालिकाले नगरपालिकामा आइतवार सार्वजनिक विदा दिएको छ । विमान अवतरण गरेको हेर्न गुल्मी र अर्घाखाँचीका सर्वसाधारण रेसुंगा विमानस्थल पुगेका छन् ।
आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको उक्त विमान ५० मिनेटमा रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । उक्त विमानमा पूर्वमन्त्री तथा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्री, प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, प्रदेशसभा सदस्य धनेन्द्र कार्की, तारा एयर र नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरू रहेका थिए । गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट ५ किलोमिटर दूरीमा रहेको रेसुङ्गा विमानस्थलबाट अब तारा एयरले नियमित उडान गर्ने तयारी छ ।