२३ असार २०८३, मंगलबार

चितवन महोत्सव आजदेखि, अर्थमन्त्री पौडेलले उदघाटन गर्ने

चितवन महोत्सव आजदेखि, अर्थमन्त्री पौडेलले उदघाटन गर्ने

आज पुस २५ गते सोमबारदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी पूरा भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४ औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ आयोजना गरिएको हो । महोत्सवको उदघाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्दैछन् ।  

महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताए । महोत्सवस्थलमा प्रदर्शनी कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालयलगायतका संरचना निर्माणको काम सकिएको श्रेष्ठले बताए । विसं २०५३ देखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको आयोजकको भनाइ छ । 

महोत्सवमा रहने सबै कक्ष (स्टल) बिक्री भइसकेको श्रेष्ठले जानकारी दिए । यस पटक महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टैछुट्टै परिसर रहने श्रेष्ठले बताए । विशेषगरी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यस पटक तोरी र मौरीलाई प्रवर्धन गर्नेगरी तोरीबारीसहित मौरीको मस्कट महोत्सवभित्र राखिने श्रेष्ठले बताए ।  

महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहितका कक्ष रहेका छन् । नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकताका साथ राखेर त्यसको प्रवर्धन र विकासमा महोत्सव अगाडि बढेको अध्यक्ष श्रेष्ठले बताए । दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिएका छन् । 

महोत्सव प्रवर्धन समितिका संयोजक राजेन्द्र ओलीले महोत्सवको उदघाटन आज बिहान ८ बजे हुनेछ । त्यसैगरी महोत्सव अन्तर्गत नै पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको ओलीले बताए । उनका अनुसार चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही पुस २९ देखि माघ ३ गतेसम्म विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन हुनेछ । 

संयोजक ओलीले महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई रु ६० तथा विद्यार्थीलाई रु ३० को टिकट व्यवस्था गरिएको बताए । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाखले अवलोकन गर्ने र रु २५ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले दावी गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्