
पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले सहकारीमा देखिएको चुनौतीहरु अन्य क्षेत्रको जस्तै राष्ट्रिय समस्या भएकाले सरकार निरपेक्ष भएर बस्न नमिल्ने बताएका छन् । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ देखि मन्त्रीहरु यस विषयमा गम्भिर हुने आफ्नो विश्वास व्यक्त गरे ।
नेपालको सहकारी अभियानको शिर्ष निकाय राष्ट्रिय सहकारी महासंघको सल्लाहकार समितिको आइतबार बसेको बैठकमा महासंघका सल्लाहकार समेत रहेका नेता खाणले सबैजना मिलेर वर्तमान संकटबाट मुलुकलाई बचाउन सकिने चर्चा गरे । ‘उद्योग व्यवसाय, बैंक वित्तियदेखि सबै क्षेत्र संकटमा छ । यो सहकारीको समस्यामा सरकार निरपेक्ष भएर बस्न मिल्दैन उनले भने ।
उनले भने, ‘यो समस्यामा सरकारविरुद्ध अभियान होइन । अन्तर्राष्ट्रिय जगतमा भएको आर्थिक संकोचका कारण सबैमा चुनौती छ । नयाँ सरकार बने पनि नेतृत्वको अनुभव भएको व्यक्ति सरकारमा रहेकाले सहकारीको विषयलाई उहाँहरुले गम्भीरतापूर्वक लिनेहुन्छ भन्ने मेरो विश्वास छ ।’
पूर्वमन्त्री तथा महासंघका सल्लाहकार गणेश साहले तत्काल समाधान गर्नुपर्ने समस्या र दीर्घकालिन रुपमा समाधान गर्नुपर्ने चुनौतीहरुमा आफ्नो साथ रहने बताए । पूर्वमन्त्री तथा महासंघका निर्वतमान अध्यक्ष केशव बडालले सहकारीको विषयमा नीति निर्माता, दलका नेताहरुलाई बुझाउन सबैजना एकताबद्ध भएर जुट्नुपर्ने बताए ।
पूर्व गृहराज्यमन्त्री तथा महासंघका सल्लाहकार दीपक बास्कोटाले सहकारीहरुले सरकारलाई राम्रो राजस्व बुझाइरहेको बताए । संकटको समयमा राज्यले सहकारीलाई सहयोग गर्नुपर्ने उनको सुझाव छ । राज्यले राष्ट्रिय सहकारी बैंकमार्फत सफ्ट लोन दिने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
सल्लाहकार डा. उषा झा र सल्लाहकार रविन्द्र केसीले सन्दर्भ ब्याजदरलाई स्वचालित बनाउनु पर्ने र जोखिम व्यवस्थापनमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिए । महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीको ब्याजदरमा सन्दर्भ ब्याजदरको रुपमा रहेको क्यापिङ सिस्टम हटाउनुपर्ने बताए ।
महासंघका उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष तथा संचालक खेम पाठक, संचालक राजेन्द्र पौडेलले सहकारीको वर्तमान अवस्थाको विषयमा सल्लाहकारहरुलाई जानकारी गराएका थिए ।