
पोखरा महानगरपालिकाको १२ औँ नगरसभा मङ्गलबार बस्ने भएको छ । १२ औँ नगरसभाको आवश्यक तयारी पुरा भएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । उनका अनुसार पोखरा सभागृहमा हुने नगरसभालाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि आवश्यक तयारी पुरा गरिएको हो ।
‘पोखरा महानगरपालिकाको १२ औँ नगरसभा मङ्गलबार बस्दै छ, हामीले यसलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने तयारी गरेका छौँ, प्रमुख आचार्यले भने, तयारीका लागि विभिन्न समितिहरू निर्माण गरिएका छन्, उनीहरूले आ–आफ्नो जिम्मेवारी सावधानी पूर्वक सम्पन्न गरिसकेका छन् ।’ आफूहरू ‘समुन्नत पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार’ भन्ने ध्येयका साथ अगाडि बढेको बताउँदै उनले नगरसभाका सदस्यहरू बीच महत्त्वपूर्ण एजेन्डाहरूमा छलफल गरिने बताए ।
दिउँसो २ बजे बस्ने नगरसभाको उद्घाटन गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले गर्नेछन् ।