
चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले विदेशी फिल्म नेपालमा भित्र्याउँदा उनीहरूबाट किनेर ल्याएको मूल्यअनुसार कर लागू गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई आग्रह गरेका छन्।
शुक्रबार काठमाडौंमा भएको चलचित्र निर्माताहरूको बृहत् भेला तथा छलफल अन्तर्क्रियामा उनले विदेशी फिल्म किनेर ल्याएको मूल्यअनुसार कर नउठाउने बोर्डको नीति न्यायोचित नभएको बताए।
अध्यक्ष खड्काले विदेशी फिल्म ल्याउँदा त्यसको कर होलसेलमा लिने नीतिले देशलाई घाटा हुने बताए।
चलचित्र व्यापार मात्रै नभएको भन्दै भाषा, संस्कृति, कला, वेषभूषा, राष्ट्रको विम्व भएको बताए। उनले कला, साहित्य देशको मेरुदण्ड भएकाले व्यापारको नाममा सहजै विदेशी चलचित्रहरूलाई निर्यात गरेर नेपाली चलचित्रहरूलाई अफ्ठयारो पार्ने स्थिति बन्द गर्नुपर्ने बताए। उनले नेपाली फिल्महरू हलमा चलेको पहिलो दिन नेपाली फिल्महरूलाई ६० प्रतिशतसम्म हलहरू उपलब्ध गराउनुपर्ने माग पनि राखे।
कला, साहित्य भनेको देशको मेरुदण्ड भएको उनको भनाइ थियो। भने, 'यो भाँचियो भने देशको अवस्था अहिलेको जस्तै हुन्छ । व्यापारको नाममा सहजै विदेशी चलचित्रहरूलाई निर्यात गरेर नेपाली चलचित्रहरूलाई अफ्ठयारो पार्ने स्थिति बन्द हुनुपर्छ ।'
अध्यक्ष खड्काले नेपाली चलचित्रमा लिइँदै आएको स्थानीय कर छुट गर्नुपर्ने र स्थानीय कर छुट निर्मातालाई फिर्ता दिनुपर्ने माग पनि गरे।