
दलहरुबीच सहमति बन्न नसक्दा सुदूरपश्चिम प्रदेश सभामुखको निर्वाचन हुन सकेको छैन । नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन हुनुपर्ने शर्त राखेपछि सभामुखको निर्वाचन अनिश्चित बनेको छ ।
पहिलो चरणको निर्वाचन बिहीबार भए पनि सभामुख चयन हुन सकेन । शुक्रबार पुनः निर्वाचन प्रक्रिया अघि बढेको थियो । विहान ११ बजे प्रदेश सभाको बैठक बोलाएर सो प्रक्रिया थालिएको भएपनि दलहरुबीच सहमति हुन सकेन ।
सो पार्टीका सांसदले माग पूरा नभएसम्म सभामुखको निर्वाचनमा भाग नलिने बताएपछि बैठक नै सञ्चालन हुन सकेन । सभामुखको भूमिकामा रहेका ज्येष्ठ सदस्य शिवराज जोशीले कानुनी राय लिने भनेपछि बैठक केही समय रोकिएको थियो ।
दलहरुबीच सहमति नबने पनि कानुनअनुसार बैठक अघि बढ्ने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । शुक्रबारको बैठकमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले अनुपस्थित हुने जनाएपछि शुक्रबारको बैठक स्थगित गरिएको थियो ।
सभामुखका लागि नेकपा (माओवादी केन्द्र) का भीमबहादुर भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले दाबी पेश गरेका छन् । बिहीवार भएको निर्वाचनमा कसैको बहुमत पुगेन । भण्डारीले २६ र रावलले २३ मत प्राप्त गरेका थिए । सभामुख निर्वाचित हुन २७ मत आवश्यक हुन्छ ।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाको मुद्दा फिर्ता हुनु पर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, रेशम चौधरीसहित टीकापुर घटनाका कैदी बन्दीहरुलाई रिहाइ गर्नुपर्ने माग अघि सारेको छ ।