नाबालिका बलात्कारको आरोपमा हाल जिल्ला कारागार तनहुँमा रहेका अभिनेता पल शाहको मुख्य भूमिका रहने गरी चलचित्र ‘ओ सजन’ चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ ।
राया फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रले शुक्रवार विकास बोर्डबाट निर्माण इजाजत लिएको हो ।
उक्त इजाजतमा चलचित्रको लेखन एवं निर्देशकमा शिवम अधिकारीको नाम उल्लेख छ । पलका साथमा कविता राय र आर.एल.लामा मोक्तान मुख्य कलाकारका रुपमा रहनेछन् ।
पल र कविताले थारू गीत ‘ओ सजन’ र ‘ओ सजन २’मा सहकार्य गरेका थिए । सोही गीतको नाम सापटी लिएर चलचित्र निर्माण हुन लागेको हो । चलचित्र निर्माण गर्दा लाग्ने प्रस्तावित अवधि ३ वर्ष उल्लेख गरिएको छ । चलचित्रको कुल अनुमानित लागत १ करोड रूपैयाँ तोकिएको छ ।
पलविरुद्ध एक नाबालिग गायिकाले बलात्कारको उजुरी दिएकी थिइन् । तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै अढाइ वर्षको जेल सजाय सुनाइसकेको छ । नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।
तनहुँबाट भने फैसला हुन बाँकी छ ।
तनहुँ जिल्ला अदालतले माघ ३ गतेलाई पेसी तोकेको छ ।
