
नवलपुर, तनहुँ र चितवन तीन जिल्लाको सङ्गममा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न जानका लागि नवलपुरतर्फबाट निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ ।
जिल्लाको गैँडाकोट नगरपालिका–३ का वडाध्यक्ष शिवकान्त तिवारीले केलादीघाट हुँदै वेणीमा जानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताए । नवलपुरसहित पश्चिमबाट आउने तीर्थालुहरू गैँडाकोटको केलादीघाट हुँदै देवघाट स्थान गर्न जाँदा सहज र छिटो हुने तिवारीको भनाइ छ ।
गैँडाकोटको पुलचोकबाट करिब पाँच किलोमिटर उत्तरतर्फ लागेपछि केलादीघाट आउने भन्दै तिवारीले केलादीघाट तरेपछि देवघाटको वेणी सङ्गममा पुग्न सकिने बताए ।
नवलपुरभन्दा पश्चिमबाट आउने सबै तीर्थयात्रीलाई गैँडाकोटको केलादीघाटको बाटो प्रयोग गर्न वडाध्यक्ष तिवारीले आग्रह गरे । मुक्तिनाथबाट बग्दै आएको कालिगण्डकी नदी र दामोदर कुण्डबाट बग्दै आएको त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वको अवसरमा लाखौँ भक्तजन आउने गर्छन् । माघे सङ्क्रान्ति स्नानका लागि आजदेखि नै भक्तजन आउन सुरु गरेका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले बताए ।
देवघाट मेलालाई मध्यनगर गर्दै यहाँ यातायात, खानेपानी, शौचालय, बिजुलीबत्तीलगायतका सबै तयारी भएको अधिकारीको भनाइ छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षाकर्मीको बैठकबाट सुरक्षा व्यवस्था कडा बनाउने निर्णयअनुसार काम भइरहेको अधिकारीले बताए । रासस