चितवनमा जारी चितवन महोत्सवको एकै दिन शनिबार ५५ हजार बढीले अवलोकन गरेका छन् । चितवन महोत्सव टिकट व्यवस्थापन समितिका संयोजक राजन पियाका अनुसार शनिबार दर्शकको घुइँचो लागेको छ ।
शनिबार विदा परेकाले धेरै दर्शकहरु महोत्सवको अवलोकन गरेको पियाको भनाइ छ । महोत्सव अवलोकनका लागि दर्शकहरुको उपस्थिति धेरै भएपछि टिकट काट्ने स्थान थप गरिएको उनले बताए । संयोजक पियाले महोत्सव भित्र प्रवेश गर्ने थप गेट समेत खुला गरिएको जानकारी दिए ।
आज माघे सङ्क्रान्ति परेकाले दर्शकको चाप अझ बढ्ने उनले विश्वास व्यक्त गरे । मानिसको भिड धेरै भएर टिकट काट्न लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै पियाले चितवन महोत्सवको टिकट अनलाइनबाट काट्न सकिने जानकारी दिए । महोत्सवको टिकट अनलाइन काटेका व्यक्तिहरु उद्योग वाणिज्य संघसँगै रहेको २ नम्बर गेटबाट सहजरुपमा महोत्सव स्थल प्रवेश गर्न सक्ने पियाले बताए ।
यसैबीच, चितवन महोत्सवको आयोजक संस्था उद्योग वाणिज्य संघ चितवनले ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्करुपमा महोत्सव प्रवेशको व्यवस्था गरेको छ । छैठौँ दिनसम्म आइपुग्दा करिब ३० हजारले निःशुल्करुपमा महोत्सव अवलोकन गरेका टिकट व्यवस्थापन समिति संयोजक पियाले जानकारी दिए ।