युक्रेनका अनेकौं ऊर्जा पूर्वाधारमा रुसले शनिवार आक्रमण गरेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।
आक्रमणका कारण देशका विभिन्न भागमा विद्युत् आपूर्ति ठप्प भएको ऊर्जामन्त्री जर्मन गालुस्चेन्कोले बताए ।
‘खार्किभ, लभिभ, इभानो–फ्रान्क्वोस्क, जापोरिजा, भिन्नित्सिया र किएभ क्षेत्रमा क्षति भएका छन्,’ उनले फेसबूक पोस्टमार्फत जानकारी दिए । आगामी केही दिनहरू असहज हुने चेतावनी पनि उनले दिएका छन् ।
युक्रेनको सबभन्दा ठूलो निजी ऊर्जा सञ्चालक डीटीईकेले दुईवटा थर्मल पावर स्टेसनमा क्षति पुगेको जनाएको छ । उनले कहाँको स्टेसनमा क्षति पुगेको भनी नखुलाए पनि अन्लाइनमा देखिएका भिडियोमा किएभ क्षेत्रको पावर स्टेसनमा आक्रमण गरिएको संकेत पाइन्छ ।
शनिवारको आक्रमणमा कम्तीमा एउटा आवासीय भवनमा क्षति पुगेको छ । युक्रेनी शहर नेपरमा रहेको उक्त आवासीय भवनमा जानीजानी रुसले आक्रमण गरेको आरोप युक्रेनी अधिकारीहरूले लगाएका छन् । तर विगतमा युक्रेनको एन्टी–एयरक्राफ्ट डिफेन्सले आवासीय क्षेत्रहरूमा क्षति पुर्याउने गरेको घटना पनि भएको छ ।