
नेकपा माओवादी केन्द्रका सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् ।
पार्टीले मन्त्री बनाउने निर्णय गरेपछि उनले आफ्ना बुवासँगको संवाद उद्धृत गर्दै फेसबूकमा भावुक स्टाटस लेखेका छन् ।
हेर्नुहोस्, सुदनको स्टाटस :
म- बुवा म मन्त्री हुने भएछु ।
बुवा - हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि विपना हो ?
म - हो बुवा साँच्चै हो विपना नै हो । ( संस्कृति,पर्यटन तथा नागरिक उड्डयन )
बुवा - मन्त्रीचाहिँ कसरी भइस् ? कसले गर्दा भइस् ?
म - पहिलो त तपाईंहरूले जन्माउनुभयो । दोस्रो त मैले धेरै राजनीतिमा दु:ख गरें । तेस्रो जनताले माया र भरोसा दियो । चौथो पार्टीले विश्वास गर्यो ।
बुवा- राम राम राम ! म उहिले फक्ल्यान्डको लाडाईंमा मरेको भए यो दिन सुन्न र देख्न पाउँदिन थेँ !
म - म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो ......... ।
बुवा- हाम्रो वंशमा वडाध्यक्षसम्म कोही भएनौं, राम्रो गर्नू ।
म - पाउनु ठूलो कुरा होइन, काम गर्नु ठूलो कुरा हो । म मेहनत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ, आज हामी सँगै हुन पाएको भए ... ।
बुवा - म गएपछि तेरो आमासँग भेट हुन्छ नै होला, म सबै भनिदिउँला । बुवा रुनु भो ! म ......... !
सम्झें, बुवाले मलाई जेलमा भेट्न आउँदा पनि धेरै रुनुभएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्लाबेग्लै थियो, आँसु भने उस्तै, आँसुको मुहान र भाव भने फरक ।