भियतनामका राष्ट्रपति न्गुयेन स्वान फुकले मंगलवार राजीनामा दिएका छन् ।
उनी प्रधानमन्त्री छँदा उनीभन्दा तलका अधिकारीहरूले अनेकौं नियम उल्लंघन तथा गलत आचरण गरेको आरोप सत्तारूढ कम्युनिस्ट पार्टीले लगाएको थियो । उनलाई बर्खास्त गर्न लागिएपछि स्वयं राजीनामा दिएको बताइएको छ ।
६८ वर्षीय फुक सन् २०१६ देखि २०२१ सम्म प्रधानमन्त्री थिए । अहिले उनी सेरेमोनियल राष्ट्रपति छन् ।
पार्टीले भ्रष्टाचारविरुद्ध कठोर कारवाही चलाइरहेको छ र त्यसक्रममा मुलुकको सर्वोच्च पदाधिकारीलाई समेत छोडेको छैन ।
भियतनाममा कुनै सर्वोच्च नेताले नभई पार्टीका महासचिव, राष्ट्रपति, प्रधानमन्त्री तथा संसद्का सभामुखले संयुक्त शासन चलाउने गरेका छन् ।
जनवरी महिनाको शुरूतिरै फुकको कार्यकालका दुई उपप्रधानमन्त्रीहरूलाई बर्खास्त गरिएपछि फुकले पनि राजीनामा दिने हल्ला चल्न थालेको थियो । पार्टीका अध्यक्ष न्गुयेन फु ट्रोङले भ्रष्टाचारविरोधी अभियानलाई तीव्रता दिएपछि राजीनामा तथा बर्खास्तगीका शृंखला चल्न थालेका छन् ।