१२ साउन २०८३, मंगलबार

राजेन्द्र लिङ्देनको छलाङ, पहिलो पटकमै उपप्रधानमन्त्री

राजेन्द्र लिङ्देनको छलाङ, पहिलो पटकमै उपप्रधानमन्त्री

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन चौथो वरियताको उपप्रधानमन्त्री लिएर सरकारमा सहभागी भएका छन् ।

पहिलोपटक सरकारमा सहभागी भएका लिङ्देनले शुरूमै उपप्रधानमन्त्रीको ‘पोर्टफोलियो’ पाएका छन् । गत वर्ष सम्पन्न राप्रपाको महाधिवेशनमा कमल थापालाई पराजित गरेर अध्यक्ष निर्वाचित भएपछि लिङ्देन चर्चामा आएका थिए ।

पूर्व पञ्चहरूको पार्टी राप्रपाको अध्यक्ष भएपछि पहिलो सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिले लिङ्देन चर्चामा आएका थिए । नेपाली कांग्रेसको महाधिवेशनमा अतिथि वक्ताको रूपमा उपस्थित लिङ्देनले देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताको उपस्थितिमा ‘गाउँमा राजनीतिक दलका नेतालाई चोर आयो भन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।

लिङ्देनको अभिव्यक्तिलाई राजनीतिक दलका नेताले चर्को विरोध गरे पनि जनतामाझ छाप छाड्न सफल भए । ‘भ्रष्टाचार गर्नु आमाको खुन (रगत) खानु सरह’ भन्ने लिङ्देनको अर्को अभिव्यक्ति पूर्व पञ्चको पार्टी राप्रपालाई पुनर्जीवन दिने बुटी बन्यो । 

दलहरूले प्रतिनिधि सभाको कार्यकाल लम्ब्याउने चालबाजी गरेपछि संसदबाट राजीनामा घोषणा गरेर हिँड्दा लिङ्देनले आफू संसदमा एक्लै नआउने बताएका थिए । २०७९ सालको चुनावमा लिङ्देन राप्रपाको पुरानो साख फर्काएर सत्ता समीकरणमा निर्णायक बने ।

नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई लगातार २ पटक पराजित गरेर संसदमा आएका लिङ्देन पहिलो प्रयासमै उपप्रधानमन्त्री बने । पार्टीमा कमल थापालाई विस्थापित गरेका लिङ्देन सरकारमा पनि कमल थापाको हैसियता फर्किए । 

२०७४ सालमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारमा कमल थापा उपप्रधानसहित ऊर्जामन्त्री थिए । प्रतिनिधि सभामा प्रत्यक्षमा ७ र समानुपातिकतर्फ ७ सहित १४ सिट रहेको राप्रपाले महत्त्वपूर्ण ३ मन्त्रालय हात पार्न सफल भएको छ । 

भ्रष्टाचारविरुद्ध अभिव्यक्ति दिएर चर्चामा आएका लिङ्देन आफैंले सरकारमा सहभागी हुने विषयलाई ‘अग्निपरीक्षा’ भनेका छन् । नेपालका खोला/नदीमा जलविद्युत्को लाइसेन्स हत्याउन देशबाहिरका शक्तिहरू समेत सक्रिय बनिरहेको अवस्थामा लिङ्देनले ऊर्जा मन्त्रालयको नेतृत्व लिएका छन् । 

राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिएपछि शहीदको शालिकमा माल्यार्पण गर्ने परम्परा तोडेर उनी शीतलनिवासबाट सिधै पशुपतिनाथ मन्दिर गए । लिम्बुको छोरा लिङ्देनको आदर्श भने सनातन हिन्दूराष्ट्रप्रति छ ।

शपथलगत्तै पशुपति मन्दिरमा गएर लिङ्देनले हिन्दूधर्मप्रति आस्था राख्ने जनताको मन जित्ने कोसिस गरेका छन् । संसदमा आदर्शवादी कुरा गर्ने लिङ्देनले मालदार मन्त्रालयलाई कसरी चलाउँछन् भन्ने कुरा सबैका लागि चासोको विषय बनेको छ । 

लिङ्देनका लागि एउटा चुनौती भने बाँकी छ, पार्टी जोगाउने । सत्ताकै कारण विगतमा राप्रपा पटक–पटक विभाजन हुने गरेको थियो । पार्टी विभाजनका लागि कमल थापा अहिले राप्रपामा छैनन् तर त्रिशंकु संसदमा मन्त्रीका लागि पार्टी विभाजन हुने खतरा कायम रहन्छ । 

लिङ्देनभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पहिलो पटकमै उपप्रधानमन्त्री बनेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्