१३ असार २०८३, शनिबार
सरसर्ती २४ घण्टा

ओली–नेपालको भलाकुसारीदेखि सांसदलाई पक्राउ गर्न गृहको निर्देशनसम्म

ओली–नेपालको भलाकुसारीदेखि सांसदलाई पक्राउ गर्न गृहको निर्देशनसम्म

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
शनिबार हुने प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् । यसैगरी कांग्रेसले उपसभामुखको निर्वाचनमा आफ्नो दलका उम्मेदवार मुक्ताकुमारी यादवको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विज्ञप्ति जारी गर्दै ७ माघमा हुने उपसभामुखको निर्वाचनमा उपस्थित हुन, तटस्थ नरहन र यादवलाई मतदान गर्न ह्वीप जारी गरेका हुन् ।
००००
सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । मन्त्रालयले  उनलाई कानून बमोजिम पक्राउ गरी तत्काल कारवाही प्रक्रिया अगाडि बढाउन शुक्रबार प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो । 

कर्तव्य ज्यान मुद्दामा तारेख गुजारी फरार रहेका  महोत्तरीको  गौशाला नगरपालिका वडा नम्बर २ निवासी  महतोलाई  पक्राउ गरी कारवाही गर्न यसअघि नै उपपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पटक पटक प्रहरीलाई मौखिक निर्देशन दिएका थिए । 

तर, हालसम्म पनि उनी पक्राउ नपरेको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ ।
००००
गृह मन्त्रालयले शुक्रबार ठूलो संख्यामा राजप्रत्रांकित द्वितीय श्रेणीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ)लगायतका कर्मचारीहरुको सरुवा गरेको छ । 
यस्तै मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीको समेत सरुवा गरेको छ । 

जसअनुसार  नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत सीडीओदेखि उपसचिव, निर्देशक, जेलरलगायतसम्मका ७० कर्मचारीको सरुवा भएको छ ।
००००
पछिल्लो समय एक अर्काविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भलाकुसारी गर्दै गरेको अवस्थामा देखिएका छन् ।
यसअघि ११ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ गर्दा सँगै देखिएपछि फेरि सभामुखको शपथमा ओली र नेपाल सँगै देखिएका हुन् । 
पूर्व प्रधानमन्त्रीको लहरमा केपी ओली, माधव नेपाल र डा बाबुराम भट्टराई एउटै लहरमा देखिएका छन् । 

एउटै लहरमा परेपछि ओलीले फेरि सँगै परिएछ भनेर हाँसीमजाक गरेको एक नेताले जानकारी दिए । जवाफमा नेपालले कुनै प्रस्ट टिप्पणी नगरे पनि केही भलाकुसारी गरेको जस्तो भने देखिन्थ्यो । नेपालको प्रस्तुतिमा अरू तीन पूर्व प्रधानमन्त्री चुपचाप लागेको देखिन्छ ।

मंसिर ४ को चुनावपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आयोजना गरेको चियापानमा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भलाकुसारी गरेको र दुवै खुशी चेहरामा प्रस्तुत भएका थिए । त्यही बेलादेखि नै सत्ता गठबन्धन बनाउन दुई नेताले पहल गरिरहेको चर्चा चलेको थियो । 

यतिखेर ओली र नेपाल एक अर्काप्रति आक्रामक भए पनि ओलीले राष्ट्रपतिको निर्वाचनमा नेपाल समाजवादी पार्टीलाई ल्याउन सकिन्छ कि भनेर आन्तरिक वार्ता गरिरहेको पनि बताइन्छ । 
सकेसम्म एक मन्त्रालय दिएरै भए पनि सरकारमा ल्याउनेबारे कुराकानीसमेत ओलीले निकटमार्फत् अघि बढाए पनि नेपाल कांग्रेससँगै प्रतिपक्षमा बसेका थिए । तर प्रचण्डलाई भने विश्वासको मत दिएका थिए ।
००००
यसैबीच नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधिसभामा बिहीवार सभामुख चुनिएका घिमिरेले शीतल निवासमा शुक्रवार विशेष समारोहकाबीच पद तथा गोपनीयताको शपथ लिएका हुन् । सभामुख चयन भएसँगै घिमिरेले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा पनि गरेका छन् । 
००००
नेपालको उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्याङ्कन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली सङ्घ (इयू)को टोलीको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । इयूको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।
००००
न्याधाधीश समाज नेपालले न्यायाधीशहरूको पारिश्रमिक र सुविधा  बढाउन सरकारसमक्ष माग गरेका छन्। अदालत स्वतन्त्र न्यायपालिकाको एक महत्वपूर्ण तत्व भएकाले यसलाई कार्यपालिकाको स्वेच्छाचारिताको अधीनमा नराखी प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवा बढाउन माग गरिएको समाजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
००००
देशभरका अदालतका मुद्दाको दण्ड, जरिवाना, सरकारी बिगो र कसुरजन्य सम्पत्ति जफतसम्बन्धी विवरण अब सफ्टवेयरबाटै सजिलै हेर्न सकिने भएको छ ।
सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा भएका मुद्दाको विवरण उक्त सफ्टवेयरबाट हेर्न सकिने भएको हो । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालय र सर्वोच्च अदालत सूचना प्रविधि महाशाखाले नयाँ सफ्टवेयर तयार गरी कार्यान्वयनमा ल्याएपछि सो व्यवस्था भएको हो ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा वृद्धि गरिने लगानीबाट मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला सिर्जना हुने बताएका छन् । अखिल नेपाल किसान महासङ्घ र स्वयमसेवक आवद्ध सामाजिक संस्थाद्वारा आयोजित उत्कृष्ट युवा तथा महिला किसान सम्मान कार्यक्रममा अध्यक्ष नेपालले यस क्षेत्रमा हुने लगानीले उत्पादन वृद्धि र कृषक वर्गको आम्दानी तथा खर्च गर्ने क्षमताको विकास भई राष्ट्रिय अर्थतन्त्रका बहुपक्षीय आयामलाई गतिशील बनाउन योगदान पुग्ने बताए ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाललाई थप हवाई प्रवेश (रूट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन् ।  सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गरेको भेटवार्ताका क्रममा मन्त्री किराँतीले सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेको भन्दै थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरेको उनको निजी सचिवालयले जनाएको छ ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्यलाई प्रदेश १ को पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्य विभाजन नियमावली संशोधन गर्दै ९ वटा मन्त्रालय कायम गरेसँगै आचार्यसहित ६ जना विनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकिएको हो ।
००००
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबारको बैठकमा उनले संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत मागेका थिए ।
००००
पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार आएपछि उनलाई डिस्चार्ज गरिएको छ। रोल्पा पुगेका पुन अस्वस्थ भएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याई ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो । 
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मृत्युपश्चात् आफ्नो शरीरका सम्पूर्ण अंग दान गर्ने घोषणा गरेका छन् । शुक्रवार बिहान प्रज्ञा भवन कमलादीमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अंगदान गर्ने घोषणा गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्