
माघे औंसीका अवसरमा नेपाल तथा भारतका हजारौं भक्तजन पूर्वी नवलपरासीको त्रिवेणी धाममा आइपुगेका छन् ।
माघे औंसीको अघिल्लो दिन शुक्रवारबाटै मेला लागेको छ ।
भारतको बिहार, उत्तर प्रदेश र नेपालका विभिन्न स्थानबाट भक्तजन यहाँ स्नान गर्न र पूजापाठ गर्न आएका हुन् । विगत वर्षमा कोरोना महामारीले लाग्न नसकेको मेलामा यस वर्ष भने घुइँचो लागेको छ ।
शुक्रवारदेखि नै आएका भक्तजन त्रिवेणी धाममा दर्जनौं मठमन्दिरमा रातभर भजनकीर्तन गरेर रात कटाएका छन् । त्रिवेणी धाम क्षेत्र विकास समितिले मेलाको व्यवस्थापन गरेको तथा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था मिलाएको मेलामा शनिवार बिहानैदेखि पूजापाठ र भजनकीर्तन गर्नेको घुइँचो लागेको हो ।
त्रिवेणी धामदेखि २ किलोमिटर दक्षिण पश्चिमका सडकका किनारमा मिठाई पसल, होटल र खाद्यान्न सामग्री बिक्री गर्ने त्रिपाल टाँगेर बसेका छन् । मेलाका कारण त्रिवेणी बजार र यस आसपासका ५ दर्जनभन्दा बढी होटल भरिभराउ छन् । नारायणी नदीका घाट स्नानका लागि व्यवस्थित गरिएको छ ।
नारायणी नदीमा डुंगा तरेर चितवन निकुञ्जभित्र रहेको वाल्मीकि ऋषिको आश्रम दर्शन र पूजाआजा गर्न जानेको लर्को देखिएको छ ।
मेलाको भीडभाडमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सुरक्षाकर्मीको संख्या पनि बढाइएको छ भने उद्धारका लागि सशस्त्र प्रहरीको उद्धार टोली पनि खटिएको छ । माघे औंसीमा त्रिवेणी धाममा स्नान गर्न देवता समेत आउने जनविश्वास रहेकाले औंसीमा यहाँ स्नान गर्नाले पुण्य मिल्ने परापूर्वकालदेखिको विश्वास रहेको त्रिवेणी धामस्थित गजेन्द्रमोक्ष दिव्यधाका स्वामी कृष्ण प्रपन्नाचार्यले बताए ।