२७ जेठ २०८३, बुधबार
पहिलो प्रस्तुति नै दमदार

प्रतिनिधिसभाको पहिलो प्रस्तुतिमा छाए स्वतन्त्रका सोविता र सुमना

प्रतिनिधिसभाको पहिलो प्रस्तुतिमा छाए स्वतन्त्रका सोविता र सुमना

आफ्नै पार्टीकी सांसद इन्दिरा रानालाई उपसभामुख बनाउन बसेको प्रतिनिधिसभाको बैठकमा पहिलो स्वतन्त्रका सांसदद्वय सोविता गौतम र सुमना श्रेष्ठको प्रस्तुति फरक देखिएको छ ।

उपसभामुखको निर्वाचनका क्रममा अन्य प्रस्तावक, समर्थक र छलफलमा भाग लिने सांसदहरूले प्रस्तुति परम्परागत थियो ।

एक अर्काविरुद्ध आरोप र प्रत्यारोपमा थिए । नयाँ दलका रूपमा पहिलोपटक संसद छिरेका स्वतन्त्रका दुई महिला सांसदले पनि रचनात्मक मन्तव्य राखे। 

रानालाई उपसभामुखमा प्रस्ताव गर्दै काठमाडौं-२ बाट जितेकी सांसद सोविताले लिखित सम्बोधन गर्ने क्रममा शानदार मन्तव्य दिइन् ।

छलफलका क्रममा भाग लिँदै यही पार्टीकी समानुपातिक सांसद सुमनाको प्रस्तुति पनि अलग थियो ।

लिखित भाषणका क्रममा अंकगणितको खेलले नागरिक मतको अपमान हुने भन्दै जिम्मेवार भएर प्रस्तुत हुन आह्वान गरिन् ।

काठमाडौं-२ मा आफ्नो विजय राजनीतिक इतिहासकै पानीढलो भएको टिप्पणी गरिन् ।

‘लोकतन्त्र भनेको फगत शासनपद्धति मात्रै होइन, यो जीवनशैली हो । त्यसैले लोकतन्त्रको अब्बल परीक्षा समाजको सबैभन्दा पिछडिएको मानिसको जीवनमा आएको सकारात्मक परिवर्तनको आधारमा मात्र लिन सकिन्छ’ सन्तुलित भाषण गर्दै उनले भनिन्, ‘आज दुई जना सीमान्तकृत समुदायका महिला लोकतान्त्रिक पद्धतिअनुसार उपसभामुख पदका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यो आफैंमा हाम्रो लोकतन्त्र सुदृढ हुँदै गएको संकेत हो ।’

आफ्नै पार्टीकी राना र कांग्रेस उपसभामुखको उम्मेदवार मुक्ताकुमारी यादवको प्रतिस्पर्धा संयोग मात्रै बन्न नहुने उनको मत थियो । सामान्य प्रक्रियामात्रै भन्दा पनि सीमान्तमा रहेका मानिस पनि मूलधारको प्रतिस्पर्धामा आउन सके मात्रै लोकतन्त्र उन्नत भएको महसुस गर्न सकिने व्यवहारिक विषय उनको सम्बोधनमा समेटिएको छ ।

भ्रष्टाचार पद र पैसाको मात्रै दुरूपयोग नभएको भन्दै सम्भानावको खोजी नगर्नु पनि रहेको भन्दै उनले नयाँ बहस छेडेकी छिन् ।

मासिक २० हजार कमाउन पनि युवाहरू विदेश जानुपर्ने तर सग्लो शरीर लिएर गएका 'साइँलीका राम'हरू बाकसमा फर्किएका, लुटिएका र पिटिएका भन्दै युवाप्रति जिम्मेवार बन्न घच्घच्याएकी छन् ।

५ खर्ब रेमिटेन्टसले पनि तात्विक फरक नपारेको टिप्पणी गर्दै उनले नेपालीका सपना अटाउन सक्ने नेपाल बनाउन प्रयत्न गर्नुपर्ने बताइन् ।

शक्ति संघर्षको भुलभुलैयामा लागेर लोक रिझ्याईमा लाग्नुभन्दा सामाजिक न्यायको लागि आवाज उठाउनु आजको आवश्यकता भएको उनको भनाइ थियो । लोकतन्त्रलाई प्रक्रिया लगेर पक्ष र विपक्षको बनाउनुभन्दा लोकतन्त्रलाई व्यवहार बनाएर जान उनले आग्रह गरिन् ।

स्वतन्त्र पार्टीकै अर्की सांसद सुमनाको प्रस्तुति झन् पृथक् थियो । यो मेरो पहिलो सम्बेधन हो भन्दै उनले बोल्न सक्षम बनाउने र कानुनी परिवेश दिनेप्रति आभार व्यक्त गरिन् ।

राजनीतिक वृत्तमा विज्ञताको धेरै बखान हुने भन्दै उनले आफ्नो विज्ञताबाटै भनाइको शुरुवात गरेकी थिइन् ।

एमएआईटीबाट एमबीए गरेर १० वर्षदेखि व्यवस्थापन परार्शतदाताको रूपमा काम गरेको उनले संसद्मा प्रस्ट्याइन्।

‘प्रणाली र संरचनाको निर्माण र समयको उचित व्यवथापन सिक्न र सिकाउनमा जीवनको महत्वपूर्ण हिस्सा बिताएको छु’, उनले भनिन्। नेपालको राजनीतिक संरचनामा कहाँ के समस्या र अभाव छन् भन्ने उनले  अर्थ्याइन्।

‘छोटो समयमा राजनीतिमा काम गर्ने संस्कार र संरचनाको अभाव भएको अनुभव गरेको छु । हामीसँग प्रशस्त योजना र प्रतिवद्धता र वाचा छन् तर मार्गचित्र छैन । समयसीमा नै छैन’, उनले भनिन्, ‘यो संरचनागत समस्या बाहिरबाट हेर्दा देखिएको थिएन । जनमुखी नतिजा नआएकोमा निराश भएका थियौं । तर सिस्टम भित्रैबाट ध्वस्त रहेछ नि ।’

भ्रष्टाचारविरोधी अभियान धेरैको भए पनि नतिजा कहिले दिने भन्दै प्रश्न उठाइन् । 

‘हामीले भ्रष्टाचारको फाइल खोल्ने भन्यौँ । धेरै वक्ताले भ्रष्टाचारको कुरा गर्नुभयो । कहिले गर्छौ ?  अर्को चुनाव आउनुअघि भ्रष्टाचारको लागि उच्चस्तरीय आयोग बनाउने हो ? कि समय पुगेन भनेर समय थप्ने हो ?’ उनले भनिन्, ‘हामीले जनतालाई गरेको वाचा पूरा गर्न क्यालेन्डर चाहिन्छ । वाचा चाहिन्छ । प्राथमिकता चाहिन्छ ।’

सरकारी अस्पतालमा स्वास्थ्यकर्मीको दरबन्दी अपुग भएको, मिटर ब्याजको आतंक, १६ प्रतिशतभन्दा चर्को ब्याजदरका दर्जनौं समस्या रहेको भन्दै जिम्मेवार बन्न उनले आग्रह गरिन् ।

राजनीतिक भागबण्डा कहिल्यै नसकिने तर नगारिकको काम गर्न किन नसकिएको भन्दै उनले राणाकालको जस्तै आदेश र हुकुमले स्थायी समस्या समाधान नदिने बताइन् ।

संसदीय क्यालेन्डर बनाएर कडाइका साथ इच्छाशक्ति देखाएर काम गर्दा नागरिकप्रति उत्तरदायी बन्न सकिने उनले प्रस्ट्याइन् ।

जनप्रतिनिधि आउँदा अबिर, माला र खाँदा होइन प्रश्न उठाउनुस् भन्दै उनले रचनात्मक भाषण गरेकी थिइन् । जुन भाषणलाई सांसदहरूले ध्यानपूर्वक सुनेका थिए ।

नयाँ दलमा उदाएको रास्वपाले पाएको फोरमलाई उनीहरूले प्रभावकारी रूपमा उपयोग गर्दै प्रस्तुति दिएका हुन् ।

यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिएको दिन रास्वपाकै सांसद सन्तोष परियारको भाषण पनि सांसदहरूले रुचिपूर्वक सुनेका थिए ।

‘हामीले लामो समय लोकतन्त्रलाई प्रक्रिया मात्र बनायौं । अब यसलाई व्यवहार बनाऔं । जुन दिन हामीले लोकतन्त्रलाई व्यवहार बनाउँछौं । त्यस दिन यो समाज परिवर्तन हुन्छ, यो समाज रुपान्तरण हुन्छ ।’ भन्दै उनले गरेको भाषणलाई धेरैले ध्यानपूर्वक सुनेका थिए । सामाजिक संजालमा उक्त भिडियो भाइरल नै भएको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्