२५ जेठ २०८३, सोमबार

व्यावसायिक गोलभेडा खेतीमा बढ्दो आकर्षण

व्यावसायिक गोलभेडा खेतीमा बढ्दो आकर्षण
प्रतिकात्मक तस्वीर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा व्यावसायिक गोलभेडा खेतीमा कृषक आकर्षित भएका छन् ।

जग्गा भाडामा लिएर आधुनिक प्रविधिमार्फत खेती गर्ने कृषकहरू जिल्लामा बढेका कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शंकर पौडेलले बताए ।

उनका अनुसार गत वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा १ हजार ७१९ मेट्रिक टन गोलभेडा उत्पादन भएको थियो ।  जिल्लामा यस वर्ष ९५ हेक्टर क्षेत्रफलमा व्यावसायिक गोलभेडा खेती भएको कृषि ज्ञान केन्द्र नवलपुरको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

‘पछिल्लो समय व्यावसायिक रूपमै सामूहिक गोलभेडा खेतीतर्फ कृषकहरू आकर्षित भएका छन्,’ सूचना अधिकारी पौडेलले भने, ‘जग्गा भाडामा लिएर आधुनिक प्रविधिमार्फत कृषकले अहिले व्यावसायिक रूपमा सामूहिक गोलभेडा खेती शुरू गरेका छन् ।’

देवचुली नगरपालिका–१७ मा ४ वर्षदेखि १० बिघा जमिन भाडामा लिएर गोलभेडा खेती शुरू गरेका कृषक गोविन्द बस्याल यसबाट राम्रो आम्दानी हुने बताउँछन् । कृषिमा थोरै श्रम गरेर आम्दानी राम्रो हुने भएकाले यसतर्फ आफूहरू लागि परेको उनको भनाइ छ । 

‘स्वदेशमा अवसर नभएको भन्दै युवाहरू विदेश पलायन हुने क्रम बढ्दै जाँदा खेतीयोग्य जमिन बाँझो रहन थालेपछि त्यसको सदुपयोग पनि हुने र युवाहरुलाई स्वदेशमै रोजगारीको सम्भावना छ भन्ने सन्देश प्रवाह गर्न आफैंले टमाटर खेती गरेको हो,’ उनले भने । 

यहाँ उत्पादन भएको गोलभेडा स्थानीय बजारसँगै बुटवल, नारायणघाट, पोखरा र काठमाडौंमा खपत हुने गरेको छ । ‘हामीले उत्पादन गरेको गोलभेडा दैनिकरूपमा पोखरा र काठमाडौंका बजारमा पठाउने गरेका छौं,’ उनले भने, ‘व्यापारी आफैंले हामीलाई सम्पर्क गर्ने हुँदा सहज तरिकाबाट जिल्लाबाहिर निर्यात हुने गरेको छ ।’

गत वर्षको भदौदेखि गोलभेडा खेती शुरू गरेका गैंडाकोटका कृषक हरि थापाले यो वर्ष मुनाफा हुने बताए । ‘पहिलो वर्ष चालू खर्च मात्र उठाउने लक्ष्य लिएकामा यो वर्ष लगानीसँगै मुनाफा पनि गर्ने लक्ष्य रहेको छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्