
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता तथा पूर्वमन्त्री राजकिशोर यादवले नेपाल–भारत सम्बन्ध बहुआयामिक र जनस्तरको सम्बन्ध रहेको बताएका छन् । भारतको ७५ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा आयोजित साक्षात्कार कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।
‘दुई देशबीचको हाम्रो सम्बन्ध बहुआयामिक छ । राज्य–राज्यको सम्बन्ध, सरकारदेखि सरकारसम्म मात्रै सम्बन्ध सीमित छैन, व्यक्तिगत सम्बन्ध छ । जनस्तरको सम्बन्ध छ’ उनले भने । सरकारदेखि सरकारसम्मको सम्बन्धको कुरा गर्दा राष्ट्रिय स्वार्थको कारण केही समस्या देखिएको उनले बताए ।
दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएर अघि बढ्नुपर्ने उनले बताए । उनले भने, ‘नेपाली आँखाबाट हेर्दा, नेपाली हितको कुरा गर्दा भारत हाम्रोलागि ठूलो बजार हो । भारतको बजार हाम्रो उत्पादनमैत्री होस् भन्ने हाम्रो चाहना हुनु स्वभाविक हो ।’
‘हाम्रो अधिकांश व्यापार भारतसँग छ । भारतको ठूलो अर्थतन्त्र छ । पुँजीवादी व्यवस्थामा ठूलोले सानालाई थिचोमिचो भएको अनुभुति भएको छ । समस्यालाई यथावत राखेर जति बखान गरे पनि यसले क्रोनिक रुपधारण गर्छ’ उनले बताए ।
नेपालमा भर्खर नयाँ सरकार गठन भएको छ । यो सरकारले छिमेकीहरुसँग खासगरी भारत र चीनसँगको सम्बन्ध अझ मजबुद बनाएर अघि बढ्नुपर्छ उनले सुझाव दिए । समस्या समाधानमा इमान्दार प्रयासको खाँचो उनले औंल्याए ।