अमेरिकामा रहेका इन्जिनीयर र वैज्ञानिकहरूका विषयमा सूचना संकलन गरेको आरोप लागेका एक चिनियाँ विद्यार्थीलाई बुधवार आठ वर्षको कैद सजाय दिइएको छ ।
जी चाओछुन नामक ती विद्यार्थी सन् २०१३ मा इलिनोई इन्स्टिच्युट अफ टेक्नोलोजीमा इलेक्ट्रिकल इन्जिनीयरिङ पढ्न अमेरिका पुगेका थिए । पछि उनी अमेरिकी सेनाको रिजर्भ फोर्समा भर्ती भएका थिए ।
उनलाई सन् २०१८ मा पक्राउ गरिएको हो ।
चीनको मिनिस्ट्री अफ स्टेट सिक्योरिटीका एजेन्टका रूपमा अमेरिकामा गैरकानूनी काम गरेको आरोपमा ३१ वर्षीय जीलाई गत सेप्टेम्बर महिनामा कसूरदार ठहर गरिएको थियो । उनले अमेरिकी सेनालाई झूटो दस्तावेज देखाएर ठगेको अभियोग पनि थियो ।
जस्टिस डिपार्टमेन्टका अनुसार, जीलाई चिनियाँ जासूस बन्न तयार हुने व्यक्तिको सूचना एक गुप्तचर अधिकारीलाई दिने काम दिइएको थियो । अमेरिकामा काम गरिरहेका चिनियाँ मूलका इन्जिनीयर तथा वैज्ञानिकलाई जीले विशेषगरी भेट्ने गरेका थिए । तीमध्ये केही अमेरिकाको रक्षा क्षेत्रमा समेत काम गर्थे ।
अमेरिकी कम्पनीहरूले विकसित गरिरहेको अत्याधुनिक एयरोस्पेस तथा भूउपग्रह प्रविधिमा पहुँच पाउन चिनियाँ गुप्तचरहरूले गरेको प्रयासमा जीको योगदान थियो ।
सन् २०१८ मा चीनको एमएसएसका प्रतिनिधिका रूपमा आफूलाई प्रस्तुत गरेका एक अमेरिकी अधिकारीसँग जीले कैयौंपटक भेटघाट गरेका थिए । त्यसै आधारमा उनी पक्राउ परेका हुन् ।