
दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’ले वैशाख १ गतेका लागि प्रदर्शन मिति घोषणा गरेको छ ।
बिहीवार मात्रै यस चलचित्रको निर्माण टिमले प्रदर्शन मितिका रुपमा वैशाख १ गते रोजेसँगै उक्त मितिका लागि प्रदर्शन घोषणा गरेका चलचित्रको संख्या पाँच पुगेको छ ।
प्रदर्शन मितिका रुपमा नयाँ वर्ष रोजेका पाँच वटै चलचित्रहरू ठूला ब्रान्ड र स्टार कलाकारहरूका हुन् । योसँगै वैशाख १ मा नेपाली चलचित्रमा ‘हेभिवेट’ भिडन्त हुने देखिएको छ ।
प्रदर्शन मिति घोषणा गरेकामध्ये एउटा वा दुईवटा चलचित्र पछि हटेपनि कम्तीमा ३ वटा चलचित्रबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै देखिएको छ ।
यसअघि ‘भगवत गीता’, ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ र ‘जारी’ले वैशाख १ गतेका लागि प्रदर्शन मिति घोषणा गरिसकेका छन् । झरना थापाको निर्देशन रहने ‘भगवत् गीता’को छायांकन सुरु भइनसकेकाले उक्त मितिमा रिलिजको सम्भावना न्यून देखिन्छ ।
सुहाना थापा, धिरज मगर, विपिन कार्की लगायतको अभिनय रहने चलचित्रले निर्माणसँगै प्रदर्शन मिति घोषणा गरेको थियो ।
रामबाबु गुरुङको निर्माण एवं उपेन्द्र सुब्बाको लेखन एवं निर्देशन रहेको ‘जारी’मा दयाहाङ राई र मिरुना मगर शीर्ष भूमिकामा छन् ।
यस्तै, ब्रान्ड बनिसकेको नाम ‘नाइँ नभन्नु ल’को छैठौं सिरिजमा आशीर्वाद बराल र आँचल शर्मा मुख्य भूमिकामा छन् । विकासराज आचार्य चलचित्रका निर्देशक हुन् ।
त्यसैगरी सुदर्शन थापाको निर्देशनमा तयार ‘प्रसाद २’मा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् ।
रोहित कट्टेल प्रस्तुतकर्ता एवं प्रवेश पौडेलको निर्देशन रहेको ‘बिहे पास’मा दयाहाङ र प्रकृतिसँगै शिशिर वाङदेल, बुद्धि तामाङ र रबिन्द्र झा लगायतको समेत अभिनय छ ।
रोचक कुरा त के देखियो भने वैशाख १ गते दयाहाङ राईका ‘जारी’ र ‘बिहे पास’ गरी दुई वटा चलचित्र एकैदिन प्रदर्शन हुने भएका छन् ।
चलचित्र क्षेत्र र दर्शकले आशा गरेका चलचित्रहरू एउटै मितिमा आउँदाको असर सबै चलचित्रलाई पर्ने देखिन्छ । एकसाथ प्रदर्शनमा आउँदा चलचित्रले पाउने शो घट्छ । त्यसले चलचित्रको इनिसियल व्यापारमा ठूलो असर गर्छ ।