
सूचना प्रविधिको सबैभन्दा ठूलो मेला क्यान इन्फोटेक आगामी माघ २४ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डमा हुने भएको छ ।
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा २८ औं संस्करणको क्यान इन्फोटेक गर्न लागिएको हो ।
क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले यस अघि २७ औं संस्करसम्म सफलतापूर्वक सम्पन्न भएको यो मेला यस वर्षको लागि पनि घोषणा भएको बताए । मेला आयोजनका लागि आवश्यक तयारी भइरहेको पनि उनले बताए ।
महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेरै क्यान इन्फोटेक गर्न लागिएको जानकारी दिएको हो ।
सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनी तथा यसको क्षेत्रको विकासका लागि आवश्यक रणनीति लिने उद्देश्यले मेला आयोजना हुँदै छ ।
मेलामा ब्राण्डिङ, आईसीटी एक्ससरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करियर काउन्सिलिङ हुने भएको छ ।
मेलामा कलेज पेभिलियन, स्टार्टअप पेलिभियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको महासंघले जानकारी दिएको छ । सूचना प्रविधिसम्बन्धी यो मेलामा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई विशेष प्रवर्द्धन गरिएको छ।
मेलाको हरेक दिन पर्यटन बोर्डको हलमा आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, मसिन लर्निङ, क्लाउड कम्प्युटिङ तथा अन्य पछिल्ला टेक्नोलोजी ट्रेण्डिङका विषयमा कन्फ्रेन्ससमेत हुने भएको छ ।
मेलामा ९० वटा स्टल बुकिङ भइसकेका छन् ।
यस पटकको क्यान इन्फोटेकलाई करीब ३ लाख दर्शकले अवलोकन गर्ने महासंघले अपेक्षा गरेको छ ।
काठमाडौंमा यो मेला सकिएपछि महासंघले सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने भएको छ । महासंघका अनुसार मधेश प्रदेशमा ५ फागुनदेखि, सुदूरपश्चिम प्रदेशमा १३ फागुनदेखि, गण्डकी प्रदेशमा २६ फागुनदेखि, बागमतीमा २ चैतदेखि ५ दिनसम्म मेला आयोजना हुने भएको छ ।
बाँकी ३ वटा प्रदेशमा भने क्यान इन्फोटेकको मेला आयोजना मिति घोषणा हुनै बाँकी रहेको उल्लेख छ ।