चैत ५, २०७९
प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र अर्को दल नेकपा एकीकृत समाजवादीले आफूलाई संसदको सत्तापक्षमा उभ्याएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरू ...
काठमाडाैं | माघ १२, २०७९
१० पुसमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्दा राष्ट्रपति एमालेले लिने समझदारी भए पनि त्यसको कार्यान्वयन जटिल बन्दै गएको छ ।
बिहीवार पेरिसडाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकमा त एमालेले मात्र भनेको उम्मेदवारलाई राष्ट्रपति बनाउन नसकिने कुरा औपचारिक छलफलकै विषय बन्यो ।
‘कुनै पार्टीलाई बाइपास गरेर राष्ट्रपति छान्न ठीक हुँदैन भन्नेबारे छलफल गर्यौं,’ बैठकपछि माओवादी सचिव देवेन्द्र पौडेलले भने, ‘एमालेलाई बाइपास गरेर पनि सहमति हुँदैन, कांग्रेसलाई बाइपास गरेर पनि सहमति हुँदैन ।’
यसलाई थप प्रस्ट्याउँदै पौडेलले लोकान्तरसँग पनि माओवादी राष्ट्रपतिमा साझा व्यक्तिको नाममा सहमति गरेर जाने पक्षमा रहेको जानकारी दिए ।
‘राष्ट्रपतिका लागि साझा व्यक्तित्व हुनु राम्रो हो,’ पौडेलले भने, ‘यसैले माओवादीले पनि साझा व्यक्तिलाई राष्ट्रपति बनाएर अघि बढ्नुपर्छ भन्ने मान्यता राखेको हो ।’
शुक्रवार पनि बैठक बसेर थप निर्णय गर्ने जानकारी उनले दिए ।
प्रचण्डले बैठकमा यसअघि राष्ट्रपति एमालेले लिने बुझाइ भए पनि अहिले अवस्था फेरिएको बताएका थिए । यसैले राष्ट्रपतिमा कसरी जाने हो सुझाव दिन पनि उनले सदस्यहरूलाई आग्रह गरेका छन् ।
‘१० पुसमा राष्ट्रपति एमालेले लिने जस्तो गरी बुझाइ भएको थियो । तर कांग्रेसले विश्वासको मत दिएपछि अवस्था फेरियो । केही गम्भीर विषय पनि सतहमा आएका छन्,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसैले हामीले छलफल गरी एउटा निचोड निकाल्नुपर्नेछ । तपाईंहरूले पनि आफ्नो राय दिनुस् ।’
एकातिर राष्ट्रपतिको चुनावमा निर्णायक मत लिएर बसेको माओवादीको यस्तो निर्णय आएको छ । अर्कातिर सहज बहुमतमा भएका प्रधानमन्त्रीले २६ पुसमा विपक्षी दलसँग विश्वासको मत लिएका छन् । यी घटनाक्रमले राष्ट्रपति एमालेले पाउन मुस्किल हुनेतिर कोर्स अगाडि बढेको देखाएको छ ।
सभामुख एमालेको पोल्टामा पुगिसक्दा उपसभामुख पनि केपी ओली ‘फेबर’को राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको छ ।
अब राष्ट्रपति पनि ओलीकै विश्वासपात्रलाई बनाउँदा साढे दुई वर्षपछि प्रचण्डले प्रधानमन्त्री छाड्दा सबै पद एमालेको हातमा पुग्नेछ । त्यो बेला सभामुख एमालेले नछाडे माओवादीसँग सत्ता साझेदार बन्नुबाहेक केही शक्ति हुने छैन । यसै शक्ति सन्तुलनको जोखिम देखेका प्रचण्डले राष्ट्रपति सकेसम्म एमाले निकटलाई नदिने गरी विकल्प खोजेका हुन् ।
प्रधानमन्त्रीबाहेक सबै शक्तिशाली पदमा ओली र उनी निकटलाई जिताउँदा प्रधानमन्त्री मात्रै भएर केही गर्न नसकिने मान्यतामा प्रचण्ड पुगेका हुन् । ओलीलाई असीमित शक्ति थोपर्न हुँदैन भन्नेमा प्रचण्ड पुगिसकेका छन् । यसैले सहज बहुमतमा हुँदाहुँदै प्रचण्ड विश्वासको मत माग्न आफैँ २५ पुस साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको दैलो धुम्बाराहीमा पुगेका थिए ।
पहिलो दल भएर पनि केन्द्र प्रदेश र महत्त्वपूर्ण संवैधानिक पदहरूबाट कांग्रेस विमुखको बाटोमा छ । यसैले सरकार गठनलगत्तैदेखि कांग्रेसले माओवादीसँग सम्बन्ध सुधार गर्न २६ पुसमा विश्वासको मत दिएको थियो । आफ्नो विश्वासको मतले प्रचण्ड–ओलीको सम्बन्धमा फाटो ल्याउन सकिने र राष्ट्रपतिको निर्वाचनमा खेल्न सकिने दाउ कांग्रेसले हेर्दै आएको छ ।
यही बेला माओवादीभित्र राष्ट्रपतिमा ओलीले अघि सारेको पात्रलाई चुपचाप समर्थन गर्न हुँदैन भन्ने मत बलियो बन्दै गएको छ ।
‘सामान्य हिसाबमा राष्ट्रपति निर्वाचनमा अन्ततः माओवादीको मत एमालेमा जाँदैन कि जस्तो अहिलेसम्मको स्थितिले देखाउँछ । प्रचण्ड र ओलीबीचको एक अर्काप्रतिको शंकाले पनि त्यस्तो देखाउँछ,’ माओवादी निकट स्रोत भन्छ, ‘किनकी सहज बहुमतमा भएका प्रधानमन्त्रीले विपक्षी दलसँग विश्वासको मत त्यसै माग्दैनन् । शक्ति सन्तुलनमा पछि परिने डरले नै यस्ता निर्णय लिइने गरिन्छ । कांग्रेसले विनाशर्त विश्वासको मत दिएपछि माओवादीको विकल्प र बार्गेनिङ बढेको देखिन्छ ।’
एकातिर टाँसिएर ५ वर्ष प्रधानमन्त्री हुने वा कांग्रेस र एमालेले भनेको भन्दै अर्कै पात्रलाई राष्ट्रपति बनाउनुपर्ने मत माओवादीको देखिन्छ ।
प्रचण्डको बार्गेनिङ ५ नै वर्ष प्रधानमन्त्री
प्रधानमन्त्री बन्दा जस्तै राष्ट्रपतिको चुनावअघि पनि प्रचण्डको बार्गेनिङ पावर बढेको बताइन्छ । ओलीले आफ्नो मान्छेलाई राष्ट्रपति नबनाई नछाड्ने हो भने प्रचण्डले ५ वर्ष नै प्रधानमन्त्री पक्का हुने ग्यारेन्टीलाई पनि विकल्पमा राखेका छन् ।
‘प्रचण्ड पार्टीमा यस्तो अवस्थामा छन् कि अलिअलि फरक मत भए पनि उनको दिमागमा के चलेको छ हुने त्यही अनुसार हो । सबै शक्ति ओलीमा केन्द्रीकृत हुन्छ भन्ने डर बढेपछि उनले कांग्रेससँग विश्वासको मत मागेका हुन्,’ माओवादीनिकट स्रोत भन्छ, ‘शक्ति सन्तुलनमा अब नयाँ कार्यकालको कुरा हुन सक्छ । एमालेले राष्ट्रपति लिँदा ५ नै वर्ष प्रधानमन्त्री हुने ग्यारेन्टी प्रचण्डले खोजेका हुन सक्छन् ।’
यो विकल्पमा पनि प्रचण्डले ओलीले अघि सारेकै भन्दा अन्य सहज पात्रका लागि दबाब दिने बताइन्छ । ५ वर्ष प्रधानमन्त्री हुने प्रचण्डको कार्ड एमाले र कांग्रेस दुवैतिर प्रयोग हुने ती नेता बताउँछन् ।
‘राष्ट्रपतिको चुनावअघि प्रचण्डले सबै विकल्पलाई खुला राख्ने देखिन्छ,’ माओवादी स्रोत भन्छ, ‘५ वर्ष आफू नै प्रधानमन्त्री हुने उनको कार्ड एमाले र कांग्रेस दुवैतिर प्रयोग हुन सक्छ । जता अनुकूल हुन्छ त्यता लाग्न पनि सक्छन् ।’
कांग्रेस अनुकूलको पात्रलाई राष्ट्रपति बनाउँदा र एमाले अनुकूलको राष्ट्रपति बनाउँदा दुवैतिर ५ वर्षे कार्ड प्रयोग गर्ने सम्भावना धेरै रहेको स्रोत बताउँछ । यो पनि नभए कांग्रेससँग नजिक भएर आफू निकट नेतालाई राष्ट्रपति बनाउने सम्भावनानजिक प्रचण्ड रहेको बताइन्छ । यो विकल्पमा अहिले राष्ट्रपति माओवादीले लिने र साढे दुई वर्षपछि सत्ताको नेतृत्व कांग्रेसलाई दिने गरी छलफल भएको पनि बुझिन्छ ।
प्राध्यापक लोकराज बराल हतारमा प्रधानमन्त्री बनेका प्रचण्डले अहिले परिस्थिति बुझेकाले अवस्था फेरिन सक्ने बताए ।
‘उहाँ (प्रचण्ड) जसरी हुन्छ प्रधानमन्त्री बन्न पाए हुन्थ्यो भन्नुभयो । हतारमा प्रधानमन्त्री बन्नु पनि भयो,’ उनी भन्छन्, ‘तर विस्तारै शक्ति सन्तुलनको हिसाब गर्दा अब राष्ट्रपति पनि छाड्दा सबैथोक गुम्ने र बार्गेनिङ पावर सबै सकिने आकलनले माओवादीले राष्ट्रपतिमा सहमति भनिरहेको हुन सक्छ ।’
कति आशावादी छ कांग्रेस ?
पहिलो दल भएर पनि सत्ता गुमाउनुको छटपटी यतिखेर कांग्रेसमा सबैभन्दा धेरै छ । यसैले एमाले र माओवादी गठबन्धनको समीकरणमा खेल्न २६ पुसमा विनाशर्त कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो ।
यसले प्रचण्डको विकल्प र बार्गेनिङ मात्रै बढाएको छैन, कांग्रेसमा समेत फेरि सत्ता राजनीतिको कोर्समा फर्किने आशा बढेको छ । २०७४ मा केन्द्र र प्रदेशमा कमजोर प्रतिपक्ष भएर पनि कांग्रेस सत्ताको नेतृत्वमा फर्केको नजीर छ । यससपटक केन्द्र र ४ प्रदेशमा पहिलो दल बनेको कांग्रेस उत्साही छ । यसैले नयाँ समीकरण बनदेखि नै कांग्रेसले अहिलेको समीकरण ढाल्न सबै प्रयत्न लगाएको हो ।
आफ्नो केन्द्रीय समिति बैठक तीनपटकसम्म स्थगित गर्ने, पार्टीभित्रैकै विरोधीको बैठकसमेत स्थगित गरेर कांग्रेसले सबै प्रयत्न राष्ट्रपति चुनावमा लगाउने निर्णय उसै गरेको होइन ।
‘हामी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिएर जाने तयारीमा छौं । यसका लागि संसदमा रहेका सबै दलसँग छलफल गरेर अघि बढ्ने तयारीमा छौं,’ कांग्रेसका मुख्य सचेतक रमेश लेखकले लोकान्तरसँग भने, ‘हाम्रो सबै ध्यान राष्ट्रपतिको चुनावमा केन्द्रित भएको छ । छिटो चुनाव गराउन सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराइसकेका छौं ।’
सभापति देउवाका विश्वासपात्र नेता लेखकले यसबीचमा प्रधानमन्त्री प्रचण्डसँग पनि आफूले भेट गरेको जानकारी दिए ।
‘राष्ट्रपति चुनावलाई लिएर हामीले सबैसँग भेटघाटको क्रमलाई अगाडि बढाएका छौं । मंगलवार मैले प्रधानमन्त्रीजीलाई पनि भेटें,’ लेखकले भने, ‘समयभित्रै चुनाव गराउन कानूनमा के–के मिलाउनुपर्ने हो, मिलाएर छिटो अघि बढौं भनेको छु । राष्ट्रपतिमा साझा सहमति जुटाएरै अघि बढौं भन्ने प्रधानमन्त्रीको मत छ ।’
प्रचण्ड–ओली भेट्दै, तर टाढिँदै !
नेपालको सत्ता राजनीतिमा उतारचढावयुक्त सम्बन्ध भएका नेता हुन्, प्रचण्ड र ओली । २०७४ अघिको चुनावमा मिल्नु पार्टी एकता गर्नु, विघटनसम्म पुग्नु र फेरि मिल्नुसम्मको अनेक उतारचढाव यी दुईले भोगेका छन् ।
देउवाले इन्कार गरेकै कारण प्रचण्ड १० पुसमा ओलीको निवासमा पुगेर प्रधानमन्त्री पक्का गर्न सफल भएका थिए । त्यसयता उनीहरूले एक दर्जनभन्दा बढीपटक भेटेका छन् । तर कांग्रेसले विश्वासको मत दिएपछि यी दुईबीचको सम्बन्ध देखिनलाई मात्रै सौहार्द छ ।
विश्वासको मत लिने दिन कांग्रेस र एमालेको विवादमा प्रचण्ड मझदारमा देखिएका थिए । अर्थात प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भनेको कांग्रेसलाई ओलीले प्रतिवाद गरेका थिए । तर प्रचण्ड विवादमा पन्छिए । कांग्रेसको समेत विश्वासको मत पाएपछि प्रचण्डप्रति ओलीलाई झन् शंका बढेको थियो । सभामुखको निर्वाचनअघि ३ माघमा प्रचण्डले सर्वदलीय बैठक आह्वान गरे । तर ओलीले राष्ट्रपति एमालेले लिनेभन्दा दायाँबायाँ नहुने भन्दै विवादमै उत्रिए । तर प्रचण्डले समझदारी बन्छ भने आफू सहमतिको बाधक नबन्ने बताइदिए ।
त्यसयता सभामुख र उपसभामुखको चुनावपछि पनि ओलीले एमालेले अघि सार्ने उम्मेदवारमाबाहेक अरूमा सहमतिको कुरै नआउने अडान दोहोर्याइरहे । तर प्रचण्ड कांग्रेसको समेत सहमतिमा राष्ट्रपतिमा समझदारी गरेर जाने पक्षमा देखिएका छन् ।
सभामुख चयनपछि संसद भवनमै एक घण्टा बसेर बाहिरिँदा प्रचण्डले सहमतिमा राष्ट्रपति चयनको विकल्पबारे बोलेका थिए । तर ओलीले एमालेले अघि सार्ने उम्मेदवारमा सहमतिबाहेक अर्को विकल्प नभएको बताएका थिए ।
एमाले नेता प्रदीप ज्ञवाली सरकार गठनको एक महिनामा अर्को समीकरण वा स्वतन्त्र व्यक्तिको खोजी भन्ने कुरा स्वाभाविक नभएको बताउँछन् ।
‘सत्ता गठबन्धनको भावना र शर्तअनुसार प्रधानमन्त्री, सभामुख र उपसभामुख चयन भइसक्नुभएको छ ।
राष्ट्रपतिमा पनि एमाले उम्मेदवार विजयी हुनुहुन्छ,’ ज्ञवाली भन्छन्, ‘कांग्रेसलाई अघिपछि संकटको बेलामा राष्ट्रिय सहमति नचाहिने । अहिले एउटा गठबन्धन अघि बढिरहेको बेलामा राष्ट्रिय सहमति चाहिने यो कस्तो बहाना हो ?’
सहमतिको नाममा स्वतन्त्र व्यक्तिलाई अघि सारिनु दलीय प्रणाली फेल भएको संकेत हुने उनी बताउँछन् ।
‘राजनीतिक प्रणालीमा दलहरू सक्षम हुँदाहुँदै स्वतन्त्र व्यक्तिको नाम राष्ट्रपतिमा आउनु कुनै पनि हिसाबले सहज विषय होइन,’ ज्ञवाली भन्छन्, ‘यो भनेको निर्दलियतातिरको बाटो हो ।’
एमालेले स्वतन्त्र व्यक्तिलाई नमान्ने अडान लिइरहेका बेला माओवादीको स्थायी कमिटी बैठकले समेत बिहीवार राष्ट्रपति चुनावमा कांग्रेसको पनि सहमति खोज्नुपर्ने निर्णय गरेपछि एमाले–माओवादी सम्बन्ध अझै चिसिन सक्ने बताइन्छ ।
३ माघमा सर्वदलीय बैठकमा कांग्रेस नेता रमेश लेखकसँग भनाभन गरेर बाहिरिएका ओलीले केही दिनअघि बल्ल प्रचण्डलाई भेटेका थिए । तर पछिल्ला ३ दिनमा उनले दुईपटक प्रचण्डलाई भेटिसकेका छन् । यी भेट मुख्यगरी राष्ट्रपति चुनावमै केन्द्रित भएको बताइन्छ ।
कस्तो छ अंकगणित
राष्ट्रपति चुनावमा राष्ट्रिय सभाका ५९, प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य मतदाता हुन्छन् । तर राष्ट्रपतिको चुनावमा राष्ट्रिय सभा र प्रतिनिधिसभाका प्रतिसांसद मतभार ७९ हुन्छ । प्रदेससभा प्रति सदस्यको मतभार ४८ हुन्छ । यो मतभार ५२६२८ हुन्छ । यसको बहुमत अर्थात् आधा मत कटाउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछन् ।
कांग्रेस १६१४२ मतसहित सबैभन्दा अगाडि छ । दोस्रो स्थानमा रहेको एमालेको १५२३३, माओावादीको ७६९७, नेकपा एसको २५७४, राप्रपाको २४५०, जसपाको १९२२, रास्वपाको १५८०, जनमतको १२४२, नागरिक उन्मुक्तिको ८६१, लोसपाको ८२७, नेमकिपाको २२३, राष्ट्रिय जनमोर्चाको १५८ र हाम्रो नेपाली पार्टीको ९६ मतभार छ ।
केन्द्र र प्रदेशसभामा भएका स्वतन्त्रको मतधार झण्डै एक हजार हाराहारी छ ।
अहिलेका सत्ता गठबन्धनमा आबद्ध एमाले, माओवादी, राप्रपा, जसपा, रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिँदा सहजै बहुमत पुग्ने अवस्था छ । तर एमाले, राप्रपा र रास्वपामात्रै ओलीले अघि सार्ने उम्मेदवारलाई समर्थन दिन प्रतिबद्ध छन् । तर यी दलको मतभार साढे १९ हजार हाराहारी मात्रै छ । यस्तोमा निर्णायक माओवादी नै देखिन्छ । जसपा, जनमत र उन्मुक्ति पार्टी पनि सहजै ओलीले अगाडि सार्ने उम्मेदवारलाई मान्ने पक्षमा छैनन् । नेकपा एस, लोसपा राष्ट्रिय जनमोर्चा त कांग्रेससँगैको गठबन्धनमा छन् ।
कांग्रेस गठबन्धनका नेकपा एस, लोसपा राष्ट्रिय जनमोर्चामा जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसद मात्रै थपिँदा पनि यो गठबन्धन बहुमतनजिक पुग्न सक्छ । तर यसका लागि माओवादीका केही सांसदले अनिवार्यरूपमा भोट क्रस गर्नुपर्छ ।
यो हिसाब अनुसार माओवादीबाट १५ सय हाराहारी भोट क्रस भए माओवादी संस्थागत रूपमा एमालेसँगको गठबन्धनमा भए पनि कांग्रेस गठबन्धनले राष्ट्रपतिमा बाजी मार्न सक्छ । तर, मतदाता सांसद तहका जिम्मेवार नेता हुने भएकाले अनौपचारिक भोट क्रस भन्दा पार्टीको औपचारिक निर्णयानुसार नै मतदान हुने नेताहरू बताउँछन् ।
कम्तीमा पनि राष्ट्रपति बन्ने पात्रमा सहमति होस् भन्ने माओवादीको चाहना देखिन्छ । 'एमालेसँगै सहमतिमा अगाडि बढ्दा पनि पात्रका विषयमा छलफल हुनुपर्छ,' माओवादीका एक नेता भन्छन्, 'संविधानको रक्षा गर्ने मान्छे चाहियो । माघ २६ पछि परिस्थिति फेरिएकाले पनि नयाँ ढंगले छलफल गरी सबैको सहमति खोजेर जानु उचित हुन्छ ।'
प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएसँगै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र अर्को दल नेकपा एकीकृत समाजवादीले आफूलाई संसदको सत्तापक्षमा उभ्याएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरू ...
अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...
२०७४ फागुन ३० गते विद्या भण्डारीले दोस्रो कार्यकालको शपथ लिने समयमा शीतलनिवासमा एक प्रकारको सन्नाटा छाएको थियो । राष्ट्रपतिलाई शपथ गराउने व्यक्ति प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्याय परिषदबाट अपर्झट अवकाशको पत्...
चालू आर्थिक वर्षको पहिलो सात महिना (साउन–माघ)सम्ममा राजस्व अनुसन्धान विभागले १७ वटा मुद्दामा जम्मा ३५ करोड रुपैयाँ मात्रै बिगो दाबी गरेको छ । पछिल्लो एक महिनामा भने ४ वटा मुद्दामा नै ६३ करोड रुपैयाँको ...
नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउँदै शुक्रवार (१७ मार्च) पक्राउपुर्जी जारी गरेको छ । पुटिनले गैरकानूनी...
‘१० पुसमा बनेको सत्ता गठबन्धन भत्किएर १० फागुनमा चुनाव अगाडिको ५ दलीय गठबन्धन ब्युँतिन्छ,’ कांग्रेस महामन्त्री गगन थापाले १ फागुनमा रूपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित कार्यकर्ता भेलामा यस्तो भा...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...
राजनीतिशास्त्रले ‘राज्य र सरकारको निर्माण नागरिकले आफ्नो सुरक्षा र सेवाका लागि आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर गरेका हुन्’, भन्छ । सार्वभौम शासन प्रणालीका नागरिकहरू मुख्य कर्ता हुन् र सरकार नागरिकको ...
महान् सिर्जनाका लागि लागि तपाईंको बास पनि महान् सभ्यतामै भएको हुनुपर्छ । तपाईंको जन्म पनि गौरवशाली अतीत भएको भूमिमा नै हुनुपर्छ । त्यसो भयो भने तपाईंको स्मृति भण्डारमा अनादिकालदेखिको गाथा सुरक्षित हुन्छ ...