
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ६८ वर्षीय सुरेश गुप्ताको आगलागीमा परी मृत्यु भएको छ । आफ्नै घरमा ग्याँस लिक भई आगो सल्किएर उनको मृत्यु भएको स्थानीयको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, दोलखाको बैतेश्वर गाउँपालिका–६ दाहालटार बस्ने अमृतबहादुर दाहालको गोठमा हिजो दिउँसो आगलागी भएको छ । सो आगो फैलिएर अमृत दाहाललगायत ४ जनाको घर, गोठ, लत्ताकपडा, भाँडावर्तन जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
यसैबीच, सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ बस्ने तीर्थलाल तामाङको घरमा बिहीबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, सुन २ तोला, नगद २ लाख ५० हजार रुपैयाँ र घर समेत गरी करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो सल्किएर उनका भाइ सुक्रित तामाङको घरमा समेत आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, सुन २ तोला, नगद १ लाख ५० हजार रुपैयाँ गरी करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
त्यस्तै, सुर्खेतको भेरीगंगा नगरपालिका–५ धर्लेनी कालिदमारस्थित सडकमा सोही ठाउँ बस्ने २२ वर्षीय लोकेश ओलीको भे.१ क ५४४९ नम्बरको अटोमा गएराति आगलागी हुँदा अटो पूर्णरुपमा जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।