दीपकराज गिरी र दीपाश्री निरौलाको चलचित्र ‘छक्का पञ्जा ४’ले राजनीतिलाई मुख्य विषयवस्तु बनाएको छ ।
सोमवार चलचित्रको पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक गरिएको छ, जसमा चुनावको सन्दर्भ र परिवेश समेटिएको छ । अभिनेता दीपकराज गिरी गाउँले नेताको भूमिकामा छन् ।
गीतको अन्तिममा उनको संवाद छ, ‘यो गाउँमा मैले सोचे जति भोट आयो कि आएन, पहिले यहाँ गन्ने अनि मात्र लाने ।’
यो संवादबाट दीपकराजको ‘राजा’ चरित्रलाई स्थापित गरिएको छ ।
यसबाट चलचित्रको मुख्य विषयवस्तु राजनीति रहेको अनुमान लगाउन सकिन्छ ।
दीपक–दीपाले चलचित्रको कथा भने कमेडी शैलीमा भन्दै आएका छन् ।
आमा सरस्वती मुभिज र आईएमईको प्रस्तुति रहेको ‘छक्का पञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गरेका हुन् ।
चलचित्रमा दीपकराज, दीपाश्रीसँगै केदार प्रसाद घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, राज आचार्य, वेनिशा हमाल, मलिना जोशी लगायतको अभिनय छ । दीपकराजकै कथा एवं लेखन रहेको चलचित्रलाई निर्माण घोषणादेखि नै प्रतिक्षित रुपमा हेरिएको छ ।
दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको चलचित्रमा केदार घिमिरे र निर्मल शर्मा कार्यकारी निर्माताका रुपमा छन् ।
नरेन्द्र मैनालीको डिओपी रहेको चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गर्दैछन् ।