१२ असार २०८३, शुक्रबार

महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै

महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै

बर्दिबास नगरवासी अहिले पर्यटकीय पूर्वाधार विकासको कामले गति लिन थालेपछि उत्साहित भएका छन् । मधेश प्रदेश सरकार र बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवर्धन समितिले जिल्लाको पूर्वाधार विकासमा उच्च प्राथमिकता दिन थालेको छ ।  मधेसकै प्रसिद्ध धार्मिकस्थल बर्दिबास –४ माइस्थानस्थित पञ्चधुरामाई मन्दिर परिसर र बर्दिबासकै रातु नदी पश्चिमको जग्गामा प्रदेश सरकार समेतको सहयोगमा रामजानकी ‘फनपार्क’ निर्माण हुने घोषणाले अहिले नगरवासी हौसिएका हुन् ।

“जिल्लाको समस्त चुरे पर्वत श्रेणी ओगटेको हाम्रो ठाउँमा प्राचीन धरोहर बेवारिसजस्तै छन्”, बर्दिबास–५ चेरुका भोगेन्द्रराज पौडेलले भने, “अहिले बर्दिबास नगरपालिका र प्रदेश सरकारले पर्यटन प्रवर्धनका क्षेत्रमा पूर्वाधार विकासका काम अघि बढाइने घोषणा गरेपछि अब केही हुन्छ कि भन्ने आश जागेको छ ।”

नगरपालिकाले प्रसिद्ध धार्मिकस्थल पञ्चधुरामाई मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने घोषणासाथ काम अघि बढाएको छ । मन्दिर परिसरको तलाउको स्तरोन्नति तथा मन्दिर परिसरको सौन्दर्य वृद्धिका लागि निर्माणको आइतबार शिलान्यास समेत भएको छ ।  

नगरपालिकाले मन्दिर परिसरको तलाउ व्यवस्थित गर्नेदेखि मनोरम वाटिका निर्माण गर्ने नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए । “हामी अति प्राचीन पञ्चधुरामाई मन्दिर परिसरलाई सिङ्गो मधेस प्रदेशले नै गर्व गर्न सक्ने गरी काम अघि बढाउँछौँ”, उनले भने, “यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाउन मन्दिरको आठ कठ्ठा क्षेत्रफलमा सुन्दर वाटिका निर्माण गरिने छ ।” नगरप्रमुख क्षेत्रीसँगै नगरको संस्कृति तथा पर्यटन प्रवर्धन समितिका अध्यक्ष हीरालाल गौतमले अब पर्यटन प्रवर्धनका क्षेत्रमा योजनाबद्ध काम थालिने उल्लेख गरे । 

नगरमा संस्कृतिको जगेर्ना र पर्यटकीय सम्भावनाको विकास गर्न नै नगरपालिकाले नगर क्षेत्रका संस्कृतिविद्, पर्यटन व्यवसायी र स्थानीय उद्यमीलाई सम्मिलित गरेर संस्कृति तथा पर्यटन प्रवर्धन समिति गठन गरेको नगरप्रमुख क्षेत्रीको भनाइ छ । 

“अहिले रु ९० लाख विनियोजित छ, यसबाट तलाउ व्यवस्थापनमा रु ४० र वाटिका निर्माणमा रु ५० लाख खर्च गरिने छ”, नगरप्रमुख क्षेत्रीले भने, “रकमकै अभावमा पञ्चधुरामाई मन्दिर परिसरको सौन्दर्य वृद्धिको योजना अलपत्र पर्न दिँदैनौँ ।” यसका लागि प्रदेश र सङ्घीय सरकारसँग आवश्यक थप सहयोग जुटाउन प्राथमिकता दिइएको  समितिका अध्यक्ष गौतमले बताए । 

पञ्चधुरा मन्दिर परिसरसँगै यसैपालि रातु पुलवारि पूर्वपश्चिम राजमार्गबाट दक्षिणतर्फ रामजानकी ‘फनपार्क’ निर्माण हुने नगरप्रमुख क्षेत्रीको भनाइ छ । नगरपालिकाले ३० बिघा जग्गा व्यवस्था गरेर बनाइने यो रामजानकी ‘फनपार्क’ का लागि मधेस प्रदेश सरकारले नगरलाई रु दुई करोड १५ लाख उपलब्ध गराइसकेको क्षेत्रीले जानकारी दिए । मिथिलापुत्रीमात्र नभएर राष्ट्रकै विभूति सीता (जानकी) र हिन्दू परम्परामा मर्यादा पुरुषोेत्तम मानिने श्रीरामका नाममा निर्माण हुने यो पार्कका लागि थप सहयोग जुटिरहेको बर्दिबास नगरपालिकाले जनाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्