
विशेष अदालतमा दर्ता भएको मुद्दामा सरकारी साक्षीको रूपमा पेश गरिएकाहरूले नै प्रतिकूल बकपत्र तयार पारेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका-२ र ९ नम्बर वडा र कृष्णपुर नगरपालिका-६ मा २०७३/०७ मा पोस्ट हार्भेष्ट सेन्टर र कस्टम हायरिङ सेन्टर स्थापनामा भएको भ्रष्टारमा उनीहरूलाई साक्षी बनाइएको थियो।
तर सरकारी साक्षी बनेका छोटेलाल चौधरी र जनकराज बोहराले सरकारी साक्षीको रूपमा पेश भए पनि प्रतिकूल बकपत्र दिएको आयोगको ठहर छ।
सञ्चालक समितिमा निकासा भएको रकम समितिले किसानहरूसँग छलफल नै नगरी आफूखुसी कृषि सामग्री खरिद गरी आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा अख्तियारले चौधरी र बोहरालाई सरकारी साक्षी बनाएको थियो।
हायरिङ सेन्टर स्थापनाका लागि सञ्चालक समितिमा निकासा भएको रकम समितिले किसानहरूसँग छलफल नै नगरी आफूखुसी कृषि सामग्री खरिद गरेको भन्दै विशेष अदालतमा परेको मुद्दामा आयोगले चौधरी र बोहोरालाई सरकारी साक्षीका रूपमा उभ्याएको थियो। तर उनीहरूले अदालतमा बकपत्रका क्रममा प्रतिकूल बकपत्र गरेको अख्तियारको ठहर छ।
मुद्दाका प्रतिवादी दशरथ भण्डारीसमेत भएको भ्रष्टाचार मुद्दामा चौधरी र बोहराले सजायमा पूर्ण छुट हुने बयान दिएका भन्दै अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
उनीहरूले विशेष अदालत काठमाडौंसमक्ष सरकारी साक्षीको रूपमा उपस्थित भई बकपत्र गर्दा आयोगबाट अनुसन्धानका क्रममा गरिएको बयानका व्यहोराको प्रतिकूल बयान दिएका अख्तियारको आरोपपत्रमा उल्लेख छ।
चौधरी र बोहराले मुख्य प्रतिवादीहरू दशरथ भण्डारी र टंकप्रसाद रिजाल उक्त मुद्दामा मतियार भएको भन्दै आयोगले चौधरी र बोहरालाई मुख्य कसुरदार भण्डारीलाई हुने सजायको आधा सजाय माग गरेको छ।