
माघ २१ देखि टीका पुन साङ्गीतिक साँझ सञ्चालन हुनेभएको छ । कार्यक्रमको आयोजक संस्था दर्पण संङ्गीतालयले मंगलबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो । कार्यक्रमको उद्घाटन प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने आयोजकले जनाएको छ । सो कार्यक्रमको उदघाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन् । कार्यक्रममा संस्कृतिक, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको समेत उपस्थिति रहने छ ।
टीका पुन साङ्गीतिक साँझमा गायिका टीका पुनलाई लोकप्रिय गायक राजु परियार लगायतका गायकहरुले साथ दिनेछन् । लोकदोहोरी गायक राजु परियारले टीका पुन साङ्गीतिक साँझ पहिलो र अविश्मरणीय हुने विश्वास व्यक्त गरे ।
‘टीका पुन साङ्गीतिक साँझ यो पहिलो हो । अविश्मरणीय हुनेछ भन्नेमा म विश्वस्त छु । टीका पुनका उत्कृष्ट गीतहरुले स्थान पाउने छ’ उनले भने । गायक परियारले टीका पुन साङ्गीतिक साँझमा आफ्नो तर्फबाट सबै किमिसका सहयोग रहने बताए ।
अर्का गायक अमृत खातीले टीका पुन साङ्गीतिक साँझले नेपाली लोकगीत संगीतको क्षेत्रमा एउटा ईटा थप्ने बताए । टीका पुनका गीत मान्छेको भावना, मन र आस्थासँग जोडिएको भन्दै उनले यस कार्यक्रममा सहभागी भएर भव्य रूपमा सफल गराउन सबैसँग आग्रह गरे ।
लोकदोहोरी गायक कृष्ण कँडेलले टीका पुनलाई सबै क्षेत्रको सहयोग हुने बताए । टीका पुन साङ्गीतिक साँझलाई उनले सफलताको शुभकामना दिए । पुनका गीत सबैको रोजाइमा रहेको उनको भनाइ छ ।
टीका पुनले माघ २१ को कार्यक्रममा सहभागी भएर यसलाई भव्य रुपमा सफल गराइदिन सबै समक्ष आग्रह गरेकि छन् । कार्यक्रममा गायिका मिना लामा, करिश्मा घर्ती, कलाकार धनराज सुनुवार, खुम केसी, मानबहादुर पुन मगरलगायतको उपस्थिति थियो ।