०९ असार २०८३, मंगलबार

तीन पटक म्याद थप्दा पनि सम्पन्न भएन लिफ्ट खानेपानी आयोजना

तीन पटक म्याद थप्दा पनि सम्पन्न भएन लिफ्ट खानेपानी आयोजना

पटक–पटक म्याद थप्दासमेत सम्पन्न नहुने बागलुङका थुप्रै ठूला आयोजना छन्, तीमध्येको एक हो –बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजना । बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजनाका रूपमा रहेको बागलुङ नगर बृहत् लिफ्टको काम तीन पटक म्याद थप्दा समेत सकिएको छैन । 

यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिए पनि अझै सम्पन्न हुन नसकेको हो । अशुद्ध र अपर्याप्त खानेपानीको समस्या भोग्दैआएको बागलुङ बजारवासी विसं २०७५ देखि उक्त लिफ्ट आयोजनाको आशमा छन् ।

दुई वर्षमा लिफ्ट खानेपानी आयोजना सक्नेगरी २०७५ असार ३१ गते कन्काई जयमाता जेभीले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण २०७७ असारमा सक्नुपर्ने योजना तीन पटक म्याद थप्दासमेत हालसम्म सम्पन्न नभएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले जानकारी दिए ।  

“विसं २०७७ असारमा सक्ने गरी सम्झौता भएको निर्माण व्यवसायीले हालसम्म तीनपटक म्याद थपेको छ, अहिले कोरोनाको कारण माघ मसान्तसम्म म्याद छ, मसान्त आउन लागिसक्यो, काम अन्तिम चरणमा भए पनि निर्माणमा धेरै ढिलाइ भएको छ”, शर्माले भने, “अहिले बिल भुक्तानी नभएको निर्माण व्यवसायीको गुनासो छ, आयोजनाका लागि आवश्यक विद्युतीकरणको काम भइरहेको छ, आयोजना सक्न धेरै समय नलाग्ला तर दुई वर्षअघि बागलुङ बजारवासीलाई खुवाइनुपर्ने पानी अझै खुवाउन नसक्दा नगर खानेपानी दुःखी छ ।”

लिफ्ट आयोजनाले बागलुङ बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टमार्फत रातमाटामा तानेर शुद्धीकरण गरी वितरण गर्ने गरी निर्माण भइरहेको भए पनि निर्माणमा ढिलासुस्तीका कारण उपभोक्ता हैरानी खेप्न बाध्य छन् । दुई वर्षमा सम्पन्न गर्ने गरी २०७५ असार ३१ गते रु ३२ करोड २५ लाख लागतमा कन्काई जयमाता जेभीले ठेक्का सम्झौता गरी निर्माण थालेको थियो । कोरोना र आयोजना निर्माणस्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाइ भएको निर्माण व्यवसायीको भनाइ छ ।

अहिले पूर्वाधारको काम सम्पन्न भएर प्राविधिक काममात्रै बाँकी रहेको निर्माण व्यवसायीको भनाइ छ । व्यवसायीले रु तीन करोड भुक्तानी नपाएका कारण प्राविधिक परीक्षणमा कठिन देखिएको निर्माण व्यवसायी तर्फका इञ्जीनियर विक्रम अधिकारीले बताए । 

मोटर सञ्चालनका लागि छ सय ३० केभिएको ट्रान्सफरर्मरसमेत जडान भइसकेको छ । काठेखोलाको पानी शुद्धीकरण गरेर लिफ्टमार्फत बागलुङ बजार ल्याउने आयोजनाको काम कछुवा गतिमा देखिएको स्थानीय रुविन सापकोटाले गुनासो गरे । अब त काठेखोलाको पानी आउला भन्नेमा आशावादी भएकै तीन वर्ष बितेको सापकोटाको भनाइ छ । निर्माण व्यवसायीको भनाइमा आयोजनाको प्रगति ९० प्रतिशत पूरा भएको छ ।

बर्खाको समयमा बागलुङ बजारमा अशुद्ध मात्रै नभएर धमिलो दूषित पानी वितरण भइरहँदा यहाँका नागरिक खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाप्रति आक्रोशित हुँदैआएका छन् । नगर खानेपानीले लिफ्ट आयोजना नबन्दासम्म अन्य विकल्प दिन नसक्ने जनाउँदै आएको छ ।  

बागलुङ बजारमा खानेपानीको माग प्रतिसेकेण्ड ४० लिटर रहेकामा पानी नपर्दा प्रतिसेकेण्ड ३० लिटर मात्रै खानेपानी आपूर्ति हुँदैआएको छ । आयोजनाको निर्माण सम्पन्नपछि प्रतिसेकेण्ड ७० लिटर खानेपानी आपूर्ति हुने बताइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्