
विभिन्न देशमा पुगेर खानाका परिकारको बारेमा भिडियो बनाउँदै आएका प्रख्यात भ्लगर लुक मार्टिनले नेपाली खानाको बारेमा एउटा भिडियो बनाएका छन् ।
धादिङको एक गाउँमा सम्पन्न भोजलाई उनले भिडियोमा उतारेका छन् । खेतमा लगेर खसी काटिएको, एउटै खडकुँलोमा मासु पकाइएको, खेतमै बसेर बुनेको टपरीमा खाना खाएको विषय भिडियोमा समेटेका छन् ।
२० मिनेटको भिडियोमा उनले खसी काटेकोदेखि भोज भतेर लगाएको विषय समेत समेटेका छन् ।
खसी काटेर रौँ भुत्ल्याइसकेपछि खरानी र बेसार दलेको विषयलाई उनले रोचक ढंगले प्रस्तुत गरेका छन् ।
यसरी दल्दा मासुमा रहेका ब्याक्टेरिया मर्ने मान्यता रहेको उनले भिडियोमा बताएका छन् ।
नेपाली खानाको परिकारबारे जानकारी गराउँदै आएको ‘कान्छी किचन’सँगको सहकार्यमा मार्टिनले नेपाली मौलिक भोजको भिडियो बनाएका हुन् ।
उनले कान्छी किचनकी सञ्चालिकालाई ‘अतुलनीय शेफ’ भनेर सम्बोधन गरेका छन् । उनी आफैँले खेतको आलीमा बसेर मासुभात खाएका छन् ।
‘नेपाली खानाको विशाल विविधता र अद्वितीय स्वादले मलाई छक्क पारेको छ । मेरोलागि विशेष अवसर भएको छ,’ मार्टिनले भिडियोमा भनेका छन् ।
नेपालबारे बनाएको उनको यो भिडियो शुक्रवारसम्म ८ लाख २८ हजारले हेरिसकेका छन् ।
मार्टिनले खानाको बारेमा सयौं भिडियो तयार गरेका छन् ।
हेर्नुहोस्, भिडियो :