टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात मिस पबि पछिल्लो समय मोडलिङमा व्यस्त छिन् ।
उनले पछिल्लो दुई महिनायता एक दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् ।
सुनिल गिरीको ‘जुम्ला’बोलको गीतमा अभिनय गरेपछि उनी म्युजिक भिडियोमा खोजिएकी हुन् ।
उनले वेव सिरिजमा समेत अभिनय गरिसकेकी छिन् भने हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा समेत उनी देखिएकी छिन् ।
गत मंगलवार प्रशारण ‘मेरी बास्सै’को ७९२ भागमा उनको अभिनय हेर्न सकिन्छ ।
उनलाई आगामी भागमा पनि दर्शकहरुले देख्न सक्नेछन् । ‘आउने भागमा पनि देखिनेछु । नियमित देखिन लागेकी चाहीँ होइन्’ उनले भनिन् ।
वाल्यकालदेखि आफूलाई खुबै मन पर्ने र हेर्ने गरेको टेलिसिरियलमा अतिथि कलाकारका रुपमा प्रस्तुत हुन पाउँदा उनले खुशी व्यक्त गरेकी छिन् ।
झण्डै २ दशक लामो समयदेखि प्रशारण हुँदै आएको ‘मेरी बास्सै’लाई पछिल्लो समय दिवाकर भण्डारीले निर्देशन गर्दै आएका छन् ।
टेलिसिरियलमा लक्ष्मी गिरी, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, पल्पसा डंगोल, निरु खड्का, टिका भक्त जिरेल, लेखान्त भुषाल, दिवाकर भण्डारी लगायतको अभिनय रहँदै आएको छ ।