काठमाडौँ, ५ भदौ - नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट प्रदेश नं ५ र ६ तथा उपत्यकाको नतिजा सार्वजनिक भएको छ ।

परिणामअनुसार प्रदेश नं ५ बाट पुरुषोत्तम सुवेदी र वसन्त गिरी तथा प्रदेश नं ६ बाट कलेन्द्र सेजुवाल र पूर्णप्रसाद चौलागाईँ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । त्यस्तै काठमाडौँ उपत्यकाबाट गोविन्द चौलागाईँ र लेखनाथ न्यौपाने विजयी भएका छन् ।
महासङ्घको अहिले प्रदेशअन्तर्गतको मतगणना भइरहेको छ । नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान भएकामा कूल एक हजार ४४९ मत खसेको निर्वाचन समितिले जनाएको छ । प्रत्येक प्रदेशको छुट्टाछुट्टै ठाउँमा मतदान भएको थियो । पैँतालीस सदस्यीय कार्यसमिति र तीन लेखा समितिसहित पचास सदस्यका लागि मतदान भएको हो ।