
नुवाकोटको विदुर नगरपालिकाले हिउँदे बैठकले केही योजनाका बजेट रकमान्तर गर्दै बजेट घटबढ गरेको छ ।
नगर प्रमुख राजन श्रेष्ठको अध्यक्षतामा आइतवार सम्पन्न १२औं नगर सभामा उपप्रमुख प्रभा बोगटीले पेश गरेकोे चालू आर्थिक वर्षको योजना तथा बजेटको ‘कार्यक्रम तथा बजेटको संशोधन तथा रकमान्तर विधेयक’ सर्वसम्मत पारित गरेसँगै ३३७ योजनामा बजेटको आकार परिवर्तन गरिएको हो ।
विधेयकमा यसअघि कार्यान्वयनका लागि पेश गरिएकामध्ये २३० योजनाको बजेट रकमान्तर गर्दै बजेटको दायरा घटाइएको र १०७ योजनाको बजेटको दायरा बढाइएको उपप्रमुख बोगटीले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्षको ऋण तिर्न बाँकी रहेको १४ करोड रुपैयाँ हाराहारी बजेट सुनिश्चित गर्दै चालू आर्थिक वर्षमा ऋण भुक्तानी गर्न बजेटको आकार घटबढ गरिएको हो ।
‘विनियोजन विधेयकमार्फत १९ करोड ५३ लाख बजेट रकमान्तर गरिएको छ,’ उपप्रमुख बोगटीले भने, ‘बजेटको आकार आवश्यकताको आधारमा घटबढ गरिए पनि कूल बजेटको दायरा भने यथावत् राखिएको छ ।’
विदुरले चालू आर्थिक वर्षमा अनुमानित १ अर्ब २४ करोड ८३ लाखको बजेट ल्याएको थियो ।
नगरसभा सदस्यले बजेटको आकार परिवर्तन भएसँगै ऋणमा रहेको नगरलाई यसै वर्ष ऋणमुक्त हुने वातावरण सुनिश्चत गर्न, पुँजीगत बजेटको खर्च शुरू नभएकाले अब तीव्रगतिमा योजना कार्यान्वयन गर्न र स–साना योजनालाई मध्यनजर गर्दै नगरका तर्फबाट गौरवको योजना सञ्चालन गर्न सुझाव दिएका थिए ।