२६ जेठ २०८३, मंगलबार

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा २३७.२९% उछाल

नेपाल लाइफ इन्स्योरेन्सको नाफामा २३७.२९% उछाल

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेखनीय प्रगति गरेको छ ।

कम्पनीले आइतवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफामा २३७.२९ प्रतिशतको उछाल आएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ४ लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४४ करोड १ लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । यस अवधिसम्ममा १८ अर्ब ६२ करोड ७४ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ भने ८ अर्ब ४४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १६ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म कम्पनीको लगानी २०.४६ प्रतिशत बढेर १ खर्ब ५६ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । 

कम्पनीको चुक्ता पुँजी १४ प्रतिशत बढेर ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ, जीवन बीमा कोष २१ प्रतिशत बढेर १ खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार रुपैयाँ र महाविपत्ती कोष १६ प्रतिशत बढेर ८३ करोड ३६ लाख ४९ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा २१औं तथा २२औं वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरिसकिएकाले जगेडा कोष ४८ करोड ४ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १०.७३ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ११६.०१ रुपैयाँ र मूल्य अनुपात आम्दानी ६८.४४ गुणा रहेको छ ।

‘समग्रमा देशमा उत्पन्न भएको आर्थिक संकटले बीमा क्षेत्रमा परेको प्रभावको बीच पनि नेपाल लाइफले उत्कृष्ट नतिजा ल्याउन सफल हुनुलाई कम्पनीको सबल पक्षको  रूपमा लिन सकिन्छ,’ कम्पनीले भनेको छ । आगामी दिनमा कम्पनीलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न विभिन्न संरचनात्मक, प्रक्रियागत सुधारहरू अबलम्बन गर्दै नेपालीहरूको घरदैलोमा गुणस्तरीय बीमा सेवा प्रबाह गर्न कम्पनी तत्पर रहेको र त्यसलाई मूर्तरूप प्रदान गर्न कम्पनी अहोरात्र लागिरहेको नेपाल लाइफ इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्