१० असार २०८३, बुधबार

सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको सडक व्यवस्थापन गर्न सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्ने बताएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज काठमाडौँ उपत्यकाका पालिका प्रमुख तथा उपप्रमुखसँगको भेटमा उनले काठमाडौँ उपत्यकामा बाटोको क्षमताभन्दा बढी सवारी साधन, सार्वजनिक यातायातको अपर्याप्तता र चुस्त ट्राफिक व्यवस्थापनको अभावका कारण दैनिक ट्राफिक जामको समस्या भोगिरहेको हुँदा त्यसलाई व्यवस्थित बनाउन जरुरी रहेको बताएकी हुन्।

“हामी सबैले दैनिकरूपमा अनुभव गर्ने एउटा समस्या सवारी जाम हो, बाटोको क्षमताभन्दा बढी सवारी साधन, सार्वजनिक यातायातको अपर्याप्तता र चुस्त ट्राफिक व्यवस्थापनको अभावका कारण हामीले दैनिकरूपमा ट्राफिक जामको समस्या भोगिरहेका छौँ”, राष्ट्रपति भण्डारीले भनिन्, “यो समस्या समाधानका लागि सडक चौडा गरेर मात्र पुग्दैन, साना सवारी साधनभन्दा ठूला सवारी साधनलाई प्राथमिकता दिँदै सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनु पर्दछ ।”

उपत्यकामा सवारी साधनको पार्किङको समस्या पनि जल्दोबल्दो समस्याका रूपमा रहेको उल्लेख गर्दै उहाँले यो समस्याको दिगो समाधानका लागि नगरपालिका तथा सम्बद्ध निकायहरूले समन्वयात्मक पहल गर्नु आवश्यक रहेको बताइन् ।

काठमाडौँ उपत्यकाका सहरहरूलाई व्यवस्थित आधुनिक सहरका रूपमा विकास गर्न सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय पालिकाहरूका साथै काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, विद्युत् प्राधिकरण, ट्राफिक प्रहरी, उपत्यका खानेपानी लिमिटेड एवं पुरातत्व विभाग जस्ता सरकारका विशिष्टीकृत निकायहरूबीच आपसी समन्वयको आवश्यकता रहेको उनको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले भनिन्, “उपत्यकाका सहरहरूलाई सभ्य सहरका रूपमा विकास गर्न भएका पुस्तकालय तथा वाचनालयलाई सुदृढ तुल्याउनाका साथै निश्चित दूरीभित्र सार्वजनिक पुस्तकालयको उपलब्धतालाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन पनि म स्थानीय पालिकासहित सम्बद्ध पक्षको ध्यान आकृष्ट गर्न चाहन्छु ।”

स्थानीय तहहरू मुलुकको आर्थिक प्रगतिका आधारभूत एकाइ हुनाका साथै सङ्घीय र प्रदेश सरकारका नीतिहरूलाई कार्यान्वयन गर्ने महत्त्वपूर्ण जननिर्वाचित अङ्ग भएको र संविधानप्रदत्त अधिकार र कर्तव्यलाई जनताको आर्थिक समृद्धिको आकाङ्क्षासँग जोड्न सके मात्र मुलुक निर्माणको सपना साकार हुन सक्ने उनको भनाइ थियो ।

उपत्यकाभित्र र बाहिर रहेका महानगर तथा पालिकाहरूका बीचमा समन्वय हुन सकेको खण्डमा सागसब्जी, फलफूल, खाद्यान्न, पुष्प उत्पादन जस्ता कृषि उपजको बजार व्यवस्थापन तथा उपभोक्तालाई राहत दिने कार्यमा सहजीकरण हुन सक्ने उनको भनाइ थियो ।
    
स्वास्थ्य, शिक्षा, व्यापार व्यवसाय तथा रोजगारीको अवसरका कारण समेत मुलुकभरिबाट राजधानी आउनुपर्ने अवस्थाले काठमाडौँ उपत्यकामा जनसङ्ख्याको अत्यधिक चाप बढ्न गएको कारण यातायात, खानेपानी तथा सरसफाइ, ढल व्यवस्थापन, नदी प्रणाली व्यवस्थापनमा चुनौती उत्पन्न भएको उनको ठम्याइ छ । रासस

salt training

कमेन्ट गर्नुहोस्