
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यानको कालिमाटी सबडिभिजन वन कार्यालयका फरेस्टर जयपृथ्वीराज बुढाथोकी समेत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै बुढाथोकी, सहायक वन अधिकृत, वन उपभोक्ता समूहका अध्यक्ष, सप्लायर्स समेत ६ जनाउपर सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको जनाएका छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘जिल्ला सल्यान, कालीमाटी गाउँपालिका वडा नं. ३ स्थित महिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष र सबडिभिजन वन कार्यालय, कालीमाटी –३, सल्यानमा कार्यरत फरेस्टर समेतले तुल्सीपुर–पुरन्धारा–बोटेचौर सडक–खण्ड स्तरोन्नतिको क्रममा हटाइएको महिला सामुदायिक वन उपभोक्ता समूह कालीमाटी–३ को वन क्षेत्रभित्रका विभिन्न जातका रूखहरु कटान, मुछान लगायत विक्री वितरणमा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कालिमाटी सबडिभिजन वन कार्यालय कालिमाटीका फरेस्टर जय पृथ्वीराज वुढाथोकीले जिल्ला सल्यान, कालिमाटी गाउँपालिका वडा नं. ३ स्थित महिला सामुदायिक वन उपभोक्ता समूह कालिमाटी, सल्यानको वन क्षेत्रबाट तुल्सीपुर–पुरन्धारा–वोटेचौर सडक खण्डको स्तरोन्नतिको क्रममा हटाइएका रुखहरुको कटान मुछान तथा निकासी कार्यमा लगत, कटान तथा घाटगद्दी रजिस्टर तयार, काठ दाउराको लगत तयार गर्दा घाटगद्दीमा रहेको वास्तविक परिमाणमा भन्दा कम नापजाँच गरी लगत तयार गरी प्रमाणित गरेकोले रु. १,८७,८७७।– बराबरको हानिनोक्सानी भएको हुँदा निजले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरको उद्योग गरेको देखिएकोले सोहि दफा अनुसार रु.१,८७,८७७।– (एक लाख सतासी हजार आठ सय सतहत्तर रुपैँया) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ बमोजिम सजाय हुन एवं जय पृथ्वीराज वुढाथोकीले नियमानुसार छपान भई कटान भएका रुखहरुमध्ये १५ वटा रुखहरुको उत्पादित काठ घाटगद्दी नगरी लगतमा समेत नराखी हिनामिना गरेको हुँदा निजले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुर गरेकोले रु.२,६८,५६१।– (दुई लाख अठसठ्ठी हजार पाँच सय एकसठ्ठी रुपैयाँ) बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) बमोजिमको सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम हिनामिना भएको सम्पत्ति असूलउपर हुन समेत मागदाबी लिइएको छ ।’